काठमाडौं : काठमाडौंमा जारी महिला फ्रेन्चाइज टी–२० लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ। पहिलो पटक भइरहेको वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) मा लगातार दोस्रो जित निकाल्ने क्रममा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले स्तब्ध बनायो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
विराटनगरको जितमा लक्ष्मी चौधरी र ज्योति पाण्डेले समान २२ रन जोड्दा अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन को योगदान दिएका थिए। पोखराकी सिता राना मगरले २ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो। पोखराका लागि कविता कुवरले अविजित रहँदै सर्वाधिक २२ रन जोडिन्।
यस्तै कप्तान सीता राना मगरले १६ रन जोड्दा अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाइन्। सरस्वती मगर १० रनमा अविजित रहिन्।
विराटनगरकी सवनम राईले २ विकेट लिइन्। सोनु खड्काले १ विकेट लिइन्। जितसँगै विराटनगरले २ खेलमा ४ अंक जोडेको छ। शीर्ष स्थानको विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो।
पोखराको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा पोखरा बिहिबार क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।