सरकारी वकीलसामू सोधियो ७ घण्टामा ४४ वटा प्रश्न!

|
फाइल फोटो

काठमाडौं : संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेर सभामुखबाट राजीनामा दिएपछि पक्राउ परेका कृष्णबहादुर महराले सरकारी वकीलको उपस्थितिमा सात घण्टा बयान दिएका छन्।

निवर्तमान सभामुख महराले आइतबार आफूविरूद्ध महानगरीय प्रहरी वृत्त तीनकुनेमा पीडित महिलाले दर्ता गरेको उजुरीमा बयान दिएका हुन्। उनले बयानका क्रममा आफूविरुद्धको उजुरीमा भनिएजस्तो कुनै पनि क्रियाकलाप नगरेको बताएका छन्।

काठमाडौं जिल्ला अदालत सरकारी वकीलको कार्यालयमा बिहान करिब ११ बजेदेखि साँझ करिब ६ बजेसम्म लगभग ७ घण्टा लगातार बयान दिएका महराले ती कर्मचारीको उजुरीमा भनिएजस्तो बलात्कारको प्रयास नगरेको बताएका छन्। महराले उक्त घटनाबारे प्रहरीमा परेको उजुरीको इन्कारीमा बयान दिएका हुन्।

स्रोतका अनुसार महराले आफूलाई महिला कर्मचारी रोशनी शाहीले कोठामा बोलाएको बताएका छन्। महराले बयानमा भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो, ‘म ती महिलाले फोन गरेर बोलाएपछि उक्त क्षेत्रमा गएको हुँ। त्यहाँ पुगेपछि उनलाई फोन गर्दा उठाइनन् र म १५ मिनेट उक्त क्षेत्रमा बसेर फर्किएँ।'

महराले रोशनीसँग पारिवारिक सम्बन्ध भएकाले पहिले पनि आउने-जाने गरेको बताएका छन्। उनले भनेका छन्, ‘हाम्रो आउजाउ थियो। पारिवारिक सम्बन्ध थियो। अभियोग लगाइएजस्तो केही क्रियाकलाप भएको होइन। घटनास्थलमा म गएको छैन। कोठामा म गएको होइन।'

उक्त प्रकरणमार्फत् आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको महराले सरकारी वकीलको रोहबरमा प्रहरीले लिएको बयानमा भनेका छन्। कसले फसाउन खोजेको भन्ने कुरा उल्लेख नगरे पनि आफूलाई उक्त आरोप लगाएर फसाउन खोजिएको जिकिर महराले बारम्बार गरेको स्रोतले बतायो।

रोशनीको कोठामा भेटिएको भाँचिएको चश्मा र जुत्ताको भित्री भागलाई लिएर पनि प्रहरीले प्रश्न सोधेको थियो। जुन चश्मा र जुत्ताको अंश पनि आफ्नो नभएको महराले प्रहरीलाई जवाफ दिएका थिए।

७ घण्टामा सोधियो ४४ प्रश्न

प्रहरीले बबरमहलस्थित सरकारी वकीलको कार्यालयमा महरालाई ४४ वटा प्रश्न सोधेको बताइएको छ। जसमा १० जति प्रश्न औपचारिक थिए। ती प्रश्नमा नाम, बाबु, आमाको नाम, थर, ठेगाना, उमेरलगायत रहेका बताइएको छ।

त्यसपछि भने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले सोझै मुद्दासँग सम्बन्धित प्रश्न सोधेका थिए। जसमा उजुरीमा भनिएका कुरालाई लिएर कडा प्रश्न सोधेको स्रोतले बतायो। प्रहरीले ती महिलासँगको पुरानो रिसिइबी थियो कि थिएन भन्नेदेखि जुत्ता, चश्मा र घटनास्थलमा उपस्थितिका भिडियोलाई आधार बनाएर प्रश्न सोधेको थियो।

जसमा महराले 'आंशिक इन्कारी' बयान दिए। महराले आफू उक्त क्षेत्रमा गएको तर घटनास्थलमा नगएको भन्ने जवाफ दिएका थिए। महरालाई त्यहाँ पुगेर मदिरा पिएकोबारे पनि प्रश्न सोधिएको थियो। त्यो कुरा पनि उनले अस्वीकार गरेको बताइएको छ।

प्रहरीले वकीललाई सुम्पियो ‘हाम्राकुरा’को भिडियो

महराले आफू घटनास्थलमा नपुगेको बयान दिएपछि प्रहरीले थप प्रमाण सरकारी वकीलको कार्यालयमा पेश गरेको छ। प्रहरीले हाम्राकुरा अनलाइनसँग रोशनी शाहीको कुराकानीलाई प्रमाणका रूपमा बुझाएको छ।

पीडितले पहिला बोलेको कुरा उक्त भिडियोमा रहेको भन्दै प्रहरीले सरकारी वकीलको कार्यालयलाई सुम्पिएको हो।

महरालाई थप पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। बयान सकिएकाले अब सरकारी वकीलको कार्यालयले महराविरुद्ध अदालतमा अभियोग पेश गर्नसक्नेछ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.