|

चितवन : नेपाल चिकित्सक संघ चितवनले चितवन मेडिकल कलेजमा तोडफोड गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ। संघले आज प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ६ बुदे मागसहितको ज्ञापन पत्र बुझाएको हो। 

संघले विभिन्न माग राख्दै २४ घण्टे अल्टिमेटम पनि दिएको छ। संघका अध्यक्ष डा प्रकाश खतिवडाद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा घट्नाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कारवाही गर्न माग गरिएको छ। संघले कलेजका चिकित्सक र विद्यार्थीमाथि भएको सांघातिक आक्रमण गर्नेलाई सिसिटिभी फुटेज र भिडियोका आधारमा ज्यान मार्ने उद्योगअन्तर्गत कानुनी कारवाही अगाडि बढाउन प्रशासनसँग माग गरेको छ। 

आफूहरूका माग २४ घण्टाभित्र पूरा नभए अशान्ति र असुरक्षाको विचमा उपचार सेवा दिन नसकिने हुँदा सम्पूर्ण अस्पताल एवं क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सेवा ठप्प पार्ने चेतावनी पनि दिइएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन, बन्द हड्तालबाट निकास ननिस्कने भएकाले सेवालाई निरन्तरता दिन चिकित्सकलाई आग्रह गरेका थिए। उनले आपराधिक गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै दोषीलाई कानुनी कारवाही हुने बताए। 

प्रजिअ बस्नेतले चितवन मेडिकल कलेजमा पटक पटक यस्ता घट्ना दोहोरिने गरेको उल्लेख गर्दै भने, ‘घट्ना घटेपछि पीडित पक्ष र अस्पतालबीच मिलेमतो गर्ने अनि नमिलेपछि तोडफोड हुने, सुरक्षा कमजोर भयो भन्ने आरोप आउने गरेको छ। घट्ना घट्नासाथ प्रशासनलाई जानकारी नगराउँदा यस्तो समस्या दोहोरिरहेको छ।’ 

नवलपरासी मध्यविन्दु नगरपालिका ९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको थियो। नाकको अप्रेसनमा अस्पताल पुगकी ज्ञवालीको अस्वाभाविक मृत्यु भएको भन्दै उनका आफन्तले हिजो साँझ ५ बजे तोडफोड गरेका हुन्।

यसैबीच चितवन मेडिकल कलेजका विद्यार्थीले पनि घट्नाको विरोध गरेको छ। चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्बारा हस्ताक्षरित विज्ञप्तिमा कानुनी उपचार खोज्न अस्पताल प्रशासन र पीडित पक्षलाई आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.