ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङले बताए।
भन्सार विभागले नायब सुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार उक्त कार्यालयमा गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो।
स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी छ। वडाध्यक्ष छेतेन भोटेले २०७२/७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए। तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ। कर्मचारीका लागि भने १६ लाख ७८ हजार रुपैयाँ खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो। यो वर्ष भने राजस्व शून्य छ। ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, चौपाया र तयारी सामान आयात–निर्यात हुन्छ,’ उनले भने, ‘ता पनि त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ।’
कार्यालयमा एक नायब सुब्बा, दुई खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी छ। कार्यालय बन्द रहेको विषयमा भन्सार विभाग बेखबर छ। यहाँ खटिएका कर्मचारी सम्पर्कमा नरहेको विभागका सूचना अधिकारी शिशिर घिमिरेको भनाइ छ। ओलाङचुङगोला हुँदै टिपताला नाकाबाट पूर्वका ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा र भोजपुरसम्मको जडीबुटीलगायत याक, चौंरी, गलैंचा, राडीपाखी चीनतर्फ निर्यात हुन्छ। चीनको सीमा क्षेत्रनजिक पर्ने ओलाङचुङगोला सदरमुकाम फुङलिङबाट गाडीमा एक दिन र त्यसपछि पैदल एक दिनको दूरीमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।