|

काठमाडौं : काठमाडौंको महाराजगन्जबाट दुईकरोड भन्दा बढी रकमसहित समातिएका ‘हाइप्रोफाइल’ जुवाडे समूहका ६ जनालाई आज प्रहरीले सर्वाेच्च अदालत उपस्थित गराएको छ। 

उनीहरूलाई हिरासतमै राखेर कारबाही अघि बढाउने या बाहिर बसेर मुद्दा लड्ने सुविधा दिने भन्ने विषयमा आज सर्वोच्चका न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासमा बहस हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए । जुवाडेहरू बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन आइतबार सर्वोच्च अदालतमा दर्ता भएको हो । 

उनीहरुले तिहारमै छुट्ने योजनाका साथ सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। तर प्रहरीले अदालतमा उपस्थित गराएर पनि उनीहरु छुट्न सकेका थिएनन्। त्यहीकारण जुवाडेहरुको तिहार प्रहरी हिरासतमै बितेको हो।

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित २५ जनालाई २ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ पर्ने अन्यमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.