थाहा संवाद

पुस्तक पढ्ने मानिस भिडभन्दा सधैँ एक कदम अगाडि हुन्छ
SHARES

कात्तिक १६, २०७६

    काठमाडौं: सौरभ लोहनी 'मोटिभेसनल स्पिकर' हुन्। उनको परिचय यतिमा सीमित छैन साथै उनी एक सफल पर्यटन व्यावसायी पनि हुन्। सौरभले अमेरिकाको वासिङटन डिसीस्थित कोलम्बिया विश्वविद्यालयबाट आइटीमा पोष्ट ग्रयाजुएट गरेका छन्। सन् २००३ देखि काठमाडौंमा बसिरहेका छन्। उनी पुस्तकलाई प्रेम गर्छन्। 'मलाई जे दियो पुस्तकले दिएको छ' उनी भन्छन्। पुस्तकले उनलाई मोटिभेसनल स्पिकर बन्न धेरै प्रेरणा दिएको छ। उनी पुस्तकलाई श्वाससँग तुलना गर्छन्।

    सन २०१४ देखि मोटिभेसनल स्पिकरका रुपमा परिचित छन्। यो क्षेत्रमा लाग्दा रत्तिभर पनि पश्चातापबोध नभएको सौरभ बताउँछन्। जहाँ मानिस र मानिसका भावहरु सुन्न पाएको उनी बताउँछन्। 'पुस्तक शब्दको भण्डार हो भने मानिस भावनाको समुन्द्र हो,' उनले भने। उनले हालसम्म १५ सयभन्दा मोटिभेसनल कक्षा दिएका छन्। मोटिभेसन भनेको भर्‍याङ हो जसले मानिसलाई लक्ष्यमा पुर्‍याउन माथिल्लो सिढीमा पुर्‍याउन सहयोग गर्छ भन्ने लाग्छ उनलाई। लोहनीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

    के मा व्यस्त हुनुहुन्छ?

    म मोटेभसिनल स्पिकर भएकोले ट्रेनिङमा नै व्यस्त छु।

    नेपालीहरुको महान् चाडपर्वको रौनकता सकिँदै गएको छ। अब नयाँ के छ योजना?

    यस वर्षको चाड त सकिँदैछ। तर, हरेक दिन मेरा लागि नयाँ नै हुन्छ। आज नयाँ भोलि पनि नयाँ नै हो। नयाँ-नयाँ विषयमा मोटिभेसन स्पिचका लागि विषयवस्तु सोचिरहेको छु।

    सबैभन्दा मनपर्ने आफ्नै रुचि?

    पुस्तक पढ्नुमा नै छ।

    कुन पुस्तक पढ्दै हुनुहुन्छ?

    ‘द रिचेस्ड म्यान हुवेभर सोलोमन’ भन्ने पुस्तक पढ्दैछु।

    पुस्तकमा के छ त्यस्तो विषयवस्तु?

    जीवन, अध्यात्म, सम्पूर्ण जगत र जे छ मानिसमा सम्पूर्णता छ भन्ने कुरा यस किताबले दिएको छ।

    तपाइलाई याद भएसम्म  पहिलोपटक पढेको पुस्तक के विषयमा आधारित थियो?

    'थाउजेन्ड स्पल्यान्डेड सन' भन्ने पुस्तक हो। जसमा अफगानिस्तानको एक महिला पात्रको बारेमा छ। महिलाको जीवन जहाँ पनि सङ्घर्षमय नै हुँदोरहेछ भनेर लेखिएको छ। जो मारियम हुन्छिन्‚ जसको अन्त्य वियोगान्तमा गएर टुङ्गिएको छ।

    पठनमा रूचि नेपाली कि विदेशी साहित्य?

    अंग्रेजी साहित्य नै बढी पढेको छु। अध्ययनका लागि बाहिर रहेँ। यद्यपि‚ नेपाली साहित्यसँग मेरो प्रेम छ। साहित्य भनेको समाज हो। मलाई साहित्यले नै नेपाली समाज बुझाएको छ।

    नेपाली र अंग्रेजी साहित्यमा के भिन्नता पाउनुभयो?

    अंग्रेजी साहित्यमा बढी जीवन्त र मानिसमा हुनुपर्ने चेतना पाउँछु। उनीहरुको अध्ययनको दायरा धेरै फरक हुन्छ। गहिराइमा गएर लेख्छन्। जीवन, अध्यात्म, साहित्य वा प्रकृतिका बारेमा अध्ययन गर्छन्। लाग्छ उनीहरु वैज्ञानिक हुन्। नेपाली साहित्यमा समाज, राजनीति र रोदन छ। लेख्ने विषयवस्तु र परिवेशअनुसार लेखिने भएर पनि होला। म पाठक मात्र हुँ।

    कुन पुस्तकमा आफूलाई भेट्टाउनुभयो?

    हरेक पुस्तकमा आफूलाई पाउँछु। पुस्तकको हरेक शब्द र अनुच्छेदमा जीवन पाउँछु। अध्ययन गर्नु भनेको आफूलाई खोज्नु पनि हो। भेट्टाउनु पनि हो। मैले मात्र होइन‚ हरेक व्यक्तिले अध्ययन गर्दै जाँदा आफूलाई भेट्टाउँछन्।

    चाहेर पनि पढ्न नपाएको कुनै पनि पुस्तक छ?

    मेरा लागि छैन। मलाई अंग्रेजी पुस्तक मनपर्छ। अचेल त सबै इन्टरनेटमा उपलब्ध छन्।

    उसो भए उपलब्ध भए जति पुस्तक त पढिसक्नुभयो?

    होइन नि। पुस्तकको लिस्ट बाँकी उमेर जति नै छ। सागरको पानी जसरी गन्न सकिन्न त्यसरी नै बाँकी पुस्तक त्यति नै छन्।

    दोर्‍याएर पढेको पुस्तक?

    पाउलो कोहेल्लो 'द अल केमेमिस्ट" भन्ने पुस्तक पढेको छु। मानिस सुख कहाँ छ भनी भौतारिरहेका हुन्छन्। तर, अन्तिममा मानिसले आफूभित्र नै पाउँछ। मानिसले बुझ्छ। जीवन नै सुख हो। सुखको कारण आफूबाहेक कोही छैन भनेर बुझ्छ।

    उपहार पाएको पुस्तक?

    धेरै छन्। उपहार भनेको कुरा कहाँ याद हुन्छ र! अझ त्यसमा धेरै शब्द हुन्छन्। उपहार शब्द नै मिठो हुन्छ।

    उपहार दिएको पुस्तक?

    मैले उपहार धेरै दिएको छु। म मानिस जाग्नुपर्छ भन्ने मानिस हुँ। किताबले मानिसलाई सधैं जगाउँछ। भर्खरै मात्र एउटा किताब उपहार दिएको थिएँ। तिब्बतियन 'लिभिङ एण्ड डाइङ' भन्ने पुस्तक उपहार दिएको छु।

    कुन उमेर समूहका व्यक्तिलाई पुस्तक उपहार दिनुहुन्छ?

    युवा उमेरका साथीहरुलाई पुस्तक उपहार दिन्छु। हिजोआज युवाहरु कम्प्युटर र मोबाइलमा भुलेका छन्। कमसेकम ती युवा साथीहरु शब्दमा भुलिदिए हुन्थ्यो भन्ने चाहन्छु।

    पुस्तकका समीक्षा कतिको पढनुहुन्छ?

    पढ्दिनँ‚ किनभने कसैको पुस्तकमा मलाई अधिकार छैन नकारात्मक हुन्। पुस्तक सदा सकारात्मक भएर लेखिएका हुन्छन्। आजसम्म यस्तो कुनै पुस्तक छैन जुन पुस्तकले समाजमा नकारात्मकता सिर्जना गरेको होस्। म सधैं सकारात्मक हुनुपर्छ भन्ने मानिस हो।

    पुस्तकमा कुनै लाइन यस्तो नभएको होस् जस्तो लाग्छ लाग्दैन?

    कतिपय पुस्तकमा लेखक हावी भएर लेखिएका हुन्छन्। तर‚ म पाठक हुँ, न्यायधीश होइन। पुस्तकको शब्द र लाइन परिवर्तन होस् भन्ने लाग्नु भनेको आफु दुःखी हुने बाटो रोज्नु हो।

    पुस्तक पढने समय?

    रातिको समय। जुन ८ बजे पछाडि।

    कस्तो पुस्तक पढन रुचाउनु हुन्छ?

    सुतेको मानिसलाई उठाउन सक्ने। साथै, अगाडि हिँडेको मानिसलाई पछाडि पनि फर्कनु पर्छ भनेर बुझाउने र चारै दिशा छ भनेर बुझाउन सक्ने पुस्तकमा रूचि छ।

    आख्यान कि गैरआख्यान?

    गैरआख्यान। मलाई जीवनी मनपर्छ। मानिसले कसरी सफलता हासिल गरेका हुन्छन् र सफलताका कसीहरु के के रहेछन् मलाई जान्न र बुझ्न मनपर्छ। यथार्थपरक विषयमा लेखिएका पुस्तक पढ्न मनपर्छ। किनभने मानिस बाँच्ने नै यथार्थमा रहेछ। यो वायुपङ्खीको समय होइन।

    मनपर्ने लेखक?

    धेरै छन्। विशेषगरी दैनिक जीवनलाई सहज बनाउन सक्ने लेखक मनपर्छ। पाउलो कोहेल्लो, भर्जिनिया उल्फ, ‘वाल्डेन’ लेखक हेनरी डेभिड थोरेउ।

    भर्जिनिया उल्फ कस्तो लेखक हुन्?

    पात्रलाई सहज ढंगबाट उतार्न सक्नुहुन्छ। जहाँ तपाईले पढ्दा पात्र आँखामा पाउनुहुन्छ। आँखा र हृदयमा बस्न सक्ने बनाउनुहुन्छ।

    पुस्तकले के दियो?

    पुस्तकले सबैथोक दियो र दिनेछ। मोबाइल र कम्प्युटरको समयमा यदि कोही पुस्तक पढ्छ भने त्यो मानिस भिडभन्दा एकदम अगाडि हुन्छ। सायद केही कदम अगाडि छु। संसारलाई फन्को लगाउन मन छ भने पुस्तक पढ्नुहोस्। जहाँ क्षणभरमा संसार घुम्न सक्नुहुन्छ।

     सिनेमा वा पुस्तक?

    पुस्तक। शब्दमा शक्ति र सिर्जना हुन्छ।

    मोटिभेसन स्पिकर हुनका लागि केही सुत्र छ?

    सुत्र केही छैन। सुन्नुहोस्, जिज्ञासु बन्नुहोस्,मेहनत गर्नुहोस्, सुरु गर्नुहोस्, लाग्नुहोस्, हिड्नुहोस्, पुग्नुहुन्छ। ठूलो कुरा इच्छाशक्ति हो।

    पाठक बन्न सजिलो कि मोटिभेसनल स्पिकर?

    सजिलो त केही पनि छैन। मन परेको खाना खान पनि गाह्रो हुन्छ नि। असल पाठक हुन त झन् गाह्रो छ। अझ मोटिभेसनल स्पिकर हुन त झनै गाह्रो छ। किनभने जाडो महिनामा चिसो पानीले नुहाउन कति गाह्रो हुन्छ। तर‚ पनि नुहाएपछि शरीर चंगा बन्छ नि। मोटिभेसन भनेको पनि त्यस्तै हो।

    पुस्तकमा कति खर्च गर्नुहुन्छ ?

    २० देखि २२ हजार रुपैयाँसम्म।

    ज्ञानको महत्त्वबारे बताइदिनुस् न?

    ज्ञान आकाश जतिको नै छ। जसरी हाम्रा लागि आकाशको महत्त्व छ। संसार मुठीमा र ज्ञानको शक्तिमा छ। सम्बन्ध, व्यवसाय वा अझ पेशामा त ज्ञानको महत्त्व धेरै छ।

    मानिसलाई उत्प्रेरणा किन जरुरी छ?

    भर्‍याङ हो उत्प्रेरणा। जसरी भर्‍याङको सहायताले हामी तलमाथि गर्छौं त्यसैगरी मानिसलाई उत्प्रेरणा चाहिन्छ। जीवनको एक परिपूरक साधन हो।

    ज्ञान आर्जनका लागि पुस्तक वा यात्रा?

    उस्तै हो। ज्ञान कसरी लिने भन्नेमा हुन्छ होला। ज्ञानको दायरा धेरै छ। पुस्तक भनेको रेष्टुरेण्टको मिठो खाना जस्तै हो। एकपटक राम्रो सेवा र मिठो खाना पाएको छौं भने पुनः त्यही रेष्टुरेण्टमा जान्छौं र यात्रा भनेको सिनेमा हो।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]