पोखरा : कास्की २ मा उपनिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएकी छन्।
बिहीबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवार मनोनयनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।
कास्की २ मा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा पदमा उपनिर्वाचन हुँदैछ। नेकपाबाट उम्मेदवार विद्या उनै स्वर्गीय पर्यटन मन्त्री रवीन्द्रकी श्रीमती हुन्।
‘उम्मेदवार हुन पार्टी र जनताबाट जसरी समर्थन आएको थियो, चुनावमा यस्तै साथ पाउने विश्वास छ,’ उनले भनिन्, ‘विद्या भट्टराई किन भन्ने कुरा आउला। हिजो आन्दोलनको एउटा योद्धा, शिक्षा र राजनीतिक जोडेर समाजलाई अगाडि लैजान उम्मेदवार भएर आएको छु। रवीन्द्रजीको योगदान र मेरो पृष्ठभूमिलाई जोड्दै यो क्षेत्रमा आएको हुँ।’
पत्रकारहरुले तपाईंले चुनाव जित्ने आधार के भन्दा उनले भनिन्, ‘नेकपाले तीनपटक जितेको ठाउँ हो। पार्टी अफ्ठ्यारो अवस्थामा पुगेको बेलामा पनि जितेको ठाउँ हो। अर्को कुरा रवीन्द्रजीको जनतासँगको सम्बन्धसहित मेरो उपस्थिति र संठनको वर्चस्व मेरो जीतको आधार हो।’
उनले जिल्ला कमिटीले सर्वसम्मत रूपमा नाम पठाएकोले कास्की नेकपामा गुट-उपगुट नरहेको भन्दै चुनाव जित्ने दाबी गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।