|

चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गरेको इंगल्यान्डले फेरि टी२० को सुपरओभरमै न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा हराएको छ।

न्युजिल्यान्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्युजिल्यान्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो।

शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो।

न्युजिल्यान्डका लागि मार्टिन गप्टिलले  २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए।

जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो। इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए।

दुवै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो। सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए। तर न्युजिल्यान्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो।

यो जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.