अभूतपूर्व नैतिक संकटबाट सरकार गुज्रिएको दाबी

|
फाइल फोटो

काठमाडौं : समाजवादी पार्टी नेपालले तत्काल सरकार नछाड्ने भएको छ। समाजवादीका दुई अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कठोर आलोचना गरे पनि तत्काल सरकार नछाड्ने भएका हुन्।

एकजना अध्यक्ष उपेन्द्र यादवले सरकारले २ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आलोचना गरिरहेका बेला अर्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई गफाडीको संज्ञा दिएका छन्। 

बिहीबारदेखि सुरु संघीय परिषद् बैठकमा प्रस्तुत गरेको २४ पृष्ठ लामो १७ बुँदे राजनीतिक प्रतिवेदनमा घुमाउरो शैलीमा सरकारमै रहने जनाउ दिइएको छ । बाबुरामले सरकारमै बसेर संविधान संशोधनका प्रक्रिया अघि बढाउनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेका छन्। 

‘संघीय सरकारमा पार्टीको संलग्नताबारेगम्भीर समीक्षा गर्नु जरुरी छ। यस सन्दर्भमा सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमतिअनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्नुपर्छ’, बाबुरामले भनेका छन्, ‘त्यसलाई कार्यान्वयन गर्ने प्रकृया अगाडि नबढाएमा सरकारबाट वर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ।’ 

बाबुरामले सरकारमा रहने या नरहने जिम्मा पार्टीका कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई जिम्मा दिएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाले संविधान संशोधनमा चासो नदिएको आरोप लगाइरहेको समाजवादीले सत्ता सञ्चालनको मर्यादा पनि ख्याल नगरेको आरोप लगाएको छ। 

‘सरकारको नेतृत्व गर्ने पार्टीले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कातर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको छ’, बाबुरामको प्रतिवेदनमा भनिएको छ, ‘साझेदार दलसँग महत्वपूर्ण निर्णय लिदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादा समेत ख्याल गरिरहेको छैन।’

प्रधानमन्त्री'गफाडी' 

बाबुरामले पेश गरेको प्रतिवेदनमा प्रम ओलीलाई गफाडीको संज्ञा दिइएको छ। बाबुरामले प्रम ओलीले उखानटुक्का हालेरै नेकपालाई चुनाव जिताएको दाबी पनि गरेका छन्। 

‘अनेक उखानटुक्का र भ्रामक अवधारणाबाट लोकरिज्याई गरेर सत्तामा आएका प्रधानमन्त्रीको कार्यशैली बिल्कुल ‘गफास्टक’ प्रकृतिको छ’, उनले भनेका छन्, ‘उनले २ वर्ष अगाडि नै तीव्र गतिको चुच्चे रेलको स्टेशन बनाउने गफ दिए। चीनका राष्ट्रपति सी जिन पिङको भ्रमणपछि भर्खरै केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कुरा मात्र भएको छ । घरघरमा ग्यास पाइपको अवधारणा सार्वजनिक शौचालयबाट बनेको गोबरग्यास उद्घाटन गरेर तुष्टिकरण गरिँदैछ।’

उनले पानीजहाजको टिकट काट्न तयार रहनु भनेर प्रम ओलीले अर्को गफ दिएको आरोप लगाएका छन्। ‘सप्तरीको हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट पोहर सालको पुष १ गतेदेखि पाइने कुरा गरियो’, उनले भनेका छन्, ‘तर अचेल चर्चा गर्न छोडिएको छ । यस्ता अनेक फोस्रा आश्वसनले सृजना गरेको अभूतपूर्व नैतिक संकटबीच यो सरकारले दुई वर्ष गुजार्दै छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.