पर्वत : मुस्ताङको लोमान्थाङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत छात्र निमा वाङदी गुरुङलाई गाउँको चिसो छोडेर घमाइलो पोखरामा बस्न पाउँदा आनन्द लागेको छ। हिमाली जिल्ला मुस्ताङमा साह्रै चिसो भएकोले अब हिउँ पर्ने र घर बाहिर निस्कन पनि कठिन पर्ने भएकोले उनलाई पोखराको न्यानो वातावरण मन परेको हो।
‘गाउँमा हिउँ पर्ने हो अब। चिसो थ्यो। पोखरा तातो हो।’ विद्यालयका प्रधानाध्यापक दिवाकर तिवारीको फोनमा थाहा खबरसँग कुरा गर्दै उनले भने, ‘अब वैशाखमा गाउँ जाने। घरको मान्छे पनि घरमा छैनन्।’
मुस्ताङमा यस वर्ष केही दिन अगाडि पहिलो पटक हिउँ परेसँगै चिसो निकै बढेको छ। कात्तिक महिनाको मध्य तथा अन्त्य तिरबाट चैतसम्म मुस्ताङमा खपी नसक्नुको चिसो हुन्छ। यही कारण यस वर्ष उपल्लो मुस्ताङमा रहेका विद्यालयहरू घुम्ती विद्यालयका रूपमा बेसी झरिसकेका छन्।
२० वटा विद्यालय पाँच महिना पोखरामा
चिसो छल्नका लागि सामुदायिक र गुम्बा गरेर २० वटा विद्यालयहरू अबको ५ महिना कास्कीको पोखराका विभिन्न ठाउँहरूमा सर्ने गरेका छन्। ‘यस वर्ष परीक्षा सकेका १८ ओटा विद्यालय पोखरामा सरी सकेका छन्।’ शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख टङ्कराज बरालले भने, ‘२ ओटा विद्यालयको परीक्षा मङ्सिर ११ गते सकिएपछि उनीहरू पनि १२ गते नै पोखरा जाने तयारीमा छन्।’
राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक तिवारीका अनुसार बुबाआमा बेसीमा झरिसकेका बालबालिकाहरू पोखरा पुगेका छन् भने कतिपयका बुबाआमा झर्ने तयारीमा रहेकाले विद्यार्थीहरू पनि केही दिनमै पोखरा पुग्नेछन्।
इकाई प्रमुख बरालका अनुसार अब वैशाख महिनाबाट मात्र ती विद्यालयहरू गाउँमै फर्केर सञ्चालनमा आउनेछन्। मुस्ताङमा हुने अत्यधिक चिसोका कारण बालबालिकाहरूलाई न्यानोको लागि घुम्ती विद्यालयमा सार्ने गरिएको छ। त्यो बाहेक चिसो याममा मुस्ताङका नागरिकहरू बेसी झरेर व्यापार गर्दै तातो समयका लागि पैसाको जोहो गर्छन्।
चिसोमा गाउँमा बस्न नसकेको फाइदा उठाउँदै उनीहरूले व्यापार गर्छन्। त्यो बेलामा बालबालिकाहरूलाई बुबा आमासँग व्यापार गर्न पठाउँदा अध्ययनमा हानी गर्ने भएकोले बालबालिकाहरूलाई घुम्ती विद्यालयमा लैजानु परेको हो।
मुस्ताङका सबै विद्यालयहरू भने घुम्ती विद्यालयको रूपमा बेसीमा झर्दैनन्। समन्वय इकाईका प्रमुख टङ्कराज बरालले उपल्लो मुस्ताङमा पर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका, लोमान्थाङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका विद्यालयहरू मात्र घुम्ती विद्यालयको रूपमा सञ्चालन हुने गरेको बताए।
लोमान्थाङअन्तर्गत साबिकको छोन्हुप गाविसमा कक्षा १ देखि ३ सम्मको पठन पाठन गर्ने ६ वटा विद्यालय पोखराको हेम्जास्थित आफ्नै भवनमा सरेर विद्यालय सञ्चालन गरेका छन्। छोसेरमा रहेको दिब्यज्योती मा.वि. बिजयपुर ब्यारेकको पछाडि रहेको आफ्नै भवनमा सरेको छ।
बालकल्याण, राष्ट्रिय र समजुङ आधारभूत विद्यालय बेगनास ताल क्षेत्रमा रहेका आफ्नै भवनमा सरेका छन्। पाल एवं नामग्याल गुम्बाले भकुण्डेमा, निफुक नामडोल गुम्बा चाउथेमा र मञ्जुश्री गुम्बाले बिरौटामा विद्यार्थी सारेका छन्।
यस्तै, लोघेकर दामोदर कुण्डका ८ ओटा सामुदायिक विद्यालयहरूमध्ये कक्षा १ देखि ३ सम्म सञ्चालन हुँदै आएका ६ ओटाले गगनगौँडामा एकै ठाउँमा विद्यालय सञ्चालन गरेका छन् भने जनज्योती र घमी आधारभूत विद्यालयले तनहुँको दुलेगौँडामा संयुक्त कक्षा सञ्चालन गरिसकेका छन्।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका २ विद्यालयहरू जननर्मल आधारभूत विद्यालय बिजयपुर नजिकै रहेको डाँडाको आप्mनै भवनमा सरेको छ भने मुक्तिनाथ आधारभूत विद्यालय डेभिस फल नजिकै जाने गरेको छ।
घुम्ती विद्यालय सञ्चालन गर्न पोखरामा बनाइएका धेरैजसो भवनहरूमा विदेशी दातृ निकायहरूले सहयोग गरेको र त्यसमा सरकारको पनि केही लगानी रहेको समन्वय इकाईका प्रमुख बरालले बताए।
उनका अनुसार सङ्घीय सरकारले विद्यालयहरूको एउटा केन्द्रको लागि ३ लाख ५० हजार रुपैयाँ अनुदान दिने गरेको छ। सदाको जस्तै यस वर्ष पनि लोमान्थाङका विद्यालयहरू ३ ओटा केन्द्रमा, लोघेकरका २ ओटा केन्द्रमा र बाह्रगुङका २ ओटा केन्द्रमा गरेर ७ ओटा केन्द्रमा सञ्चालनमा आएका छन्।
विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई मध्यनजर गर्दै एक शैक्षिक सत्रमा पढाई पूरा गर्नुपर्ने १० महिना अवधि नै शिक्षण क्रियाकलाप सञ्चालन गर्नुको विकल्प नरहेको बरालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।