फिचर

अस्तित्व संकटमा दुल्लु क्षेत्र,देखिँदैन सिंजा साम्राज्यको शितकालीन दरबार

मंसिर ४, २०७६

    दैलेख :  तत्कालीन बाईसे चौविसे राज्यमध्येको दुल्लु सिंजा साम्राज्यको शीतकालीन राजधानीका रुपमा चर्चित क्षेत्र हो। १४५३ मा तत्कालीन खस राजा संसारी बम्मले स्थापना गरेको दुल्लु दरबार अर्थात् सिंजा साम्राजयको शीतकालीन राज्यको अस्तित्व अहिले संकटमा परेको छ।

    तत्कालीन सिंजा साम्राज्यका राजा संसारी वम्मले निर्माण गरेको ऐतिहासिक दुल्लु दरबार सम्बन्धित पक्षले ध्यान नदिँदा अहिले निसाना भेटिँदैन भने दरबार बनेको क्षेत्र बाँझो जग्गामा परिणत भएको देखिन्छ। 

    बाइसे चौबिसे राज्यकालमा  २४ जिल्लामा सबैभन्दा धेरै महत्व बोकेको दुल्लु क्षेत्रमा रहेको सिंजा साम्राज्यको राजधानी रहेकोे अस्तित्व अहिले संकटमा परेको देखिन्छ।

    साम्राराज्यका राजा नागराजले ११ सय ४० देखि सिंजाको शीतकालीन राजधानी दुल्लु रहेको कुरा ऐतिहासिका वर्णनहरूमा उल्लेख गरिएको भए पनि अहिले त्यहाँ रहेको पुराना सम्पदाको अवलोकन गर्ने जाने पर्यटकहरुले त्यसको स्वरूप त के, दरबार कहाँ नजिक थियो भन्नेसमेत जानकारी पाउन सक्दैनन्। 

    पुराना शिलालेखमा तत्कालीन राज्यकालमा दुल्लु नगरलाई दुर्लभ प्रदेश दुर्लङ्घ्य नगर भनेर उल्लेख गरेको भएपनि अहिले दुर्लभ प्रदेश दुर्लङ्घ्य नगरको अस्थितत्व संकटमा परेको पर्यटन पत्रकार महांसघका महासचिव एवम दैलेखमा लामो समयदेखि पत्रकारीता गर्दै आएका पत्रकार विष्णु शर्माले बताए।

    एतिहासिक इतिहास बोकेको दुल्लु क्षेत्रलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने भएपनि कसैले पनि पुराना सम्पदा संरक्षणमा ध्यान नदिदाँ पुरात्वात्तिक सम्पदा मासिँदै गएको र अहिले दुल्लुको अस्तित्व संकटमा परेको शर्माले बताए।  

    दैलेख ऐतिहासिक पुरात्तात्विक र धार्मिक हिसाबले महत्वपूर्ण जिल्ला मात्र होइन तत्कालीन बाइसे र चौबिसे राज्यकालमा विशेष भूमिका बोकेको जिल्ला भए पनि पुराना सम्पदा संरक्षण गर्न स्थानीय सरकारले चासो नदिएका कारण सबै इतिहास मेटिने सम्भवना बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। 

    २०५९ वैशाख ८ गते तत्कालीन माओवादीले जनयुद्धको नाममा दुल्लु दरबारमा बम बिस्फोट गराएपछि भत्किएको दुल्लु दरवारको पुननिर्माण हुन नसक्दा दरवारको अवशेष समेत हराएकाले अहिले दरवार बनेको क्षेत्र भेटाउँनै मुस्किल पर्ने गर्दछ।

    जावा समुद्रसम्म फैलिएको खस साम्राज्य 

    तत्कालीन खस मल्ल कालिन साम्राज्य जुम्लाको सिंजाहाटमा ग्रीष्मकालिन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी रहेको थियो। कुनै बेला खस संस्कृतिको साम्राज्य इराक इरानदेखि वर्मा र जावा समुन्द्रसम्म फैलिएको किम्बदन्तीमा उल्लेख गरिएको छ।

    मल्ल राज्यकालमा जुम्लाको सिंजा र दैलेखको दुल्लुमा स्थापना भएका हजारौँ बढी मूर्त अर्मूत ऐतिहासिक सम्पदा कृति अभिलेख संरक्षणको अभावमा मासिएका छन भने पुराना मुर्तिहरु समेत चोरी भइसकेका छन्।

    करिव ३४ सय बर्ष अघि अर्थात् इशापुर्व १४४५ मा राजा जालन्धरले सिंजा राज्य स्थापना गरेको किंवदन्ती अहिले पनि पाइन्छ। जालन्धर राजा शिवका भक्त भएकाले अक्षर सि र आफ्नो नामको अघिल्लो अक्षर जा बाट जोडेर सिंजा नाम राखिएको लोक कथन छ।

    सींजामा जालन्धरकी रानि वृन्दाले बास बसेको ठाउँमा अहिले पनि वृन्दाबासीनी देवी भनेर पूजाआजा गरिँदै आएको छ।

    दुलोबाट अप्रभंश हुदै दुल्लु 

    तत्कालीन राज्यकालमा दुल्लु नगरलाई दुर्लभ प्रदेश दुर्लङ्घ्य नगर भनेर उल्लेख गरेको भए पनि पछिल्लो समयमा दुल्लुको नाम दुलोबाट अपभप्रभंश हुँदै दुल्लु भएको भन्ने भनाई रहेको छ। दुर्लङ्घ्य नगरीमा बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नाम बाट अप्रभंसे भई दुल्लू नाम रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ

    दुल्लु दरबारको इतिहास

    हाल भग्नावशेष भई निसाना नभेटिने अवस्थामा परिणत भएको दुल्लु दरवारलाई नेपाल एकिकरण पछिको दरबार मानिन्छ। पकाएको इँट्टाद्वारा निर्माण गरिएको यो दरबार विक्रम सम्बत १४५३ मा तत्कालिन खस राजा संसारी बम्मले स्थापना गरेका थिए।

    राज्यले रजौटा उन्मुलन ऐन बमोजिम राज्य खारेज गरेपछि हाल यस दरबारले चर्चेको सम्पूर्ण लिगलकापातहरू उदयरत्न शाह र जंगबगादुर शाहका दुई पक्षका ११ जना अंशियारका बीच बाँडफाँड भएको थियो।

    नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि वि.सं २०१८ साल सम्म छुट्टै राज्यको रुपमा रहको थियो। त्यस पछि  दुल्लु राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो।

    संसारी वर्माद्वारा विक्रम सम्वत १४५३ मा स्थापना गरिएको दुल्लु राज्य उत्तिम शाहीको पालामा विक्रम सम्वत १८४६ कार्तिक २१ गते अमरसिंह थापाको नेतृत्वमा दुल्लु विजय गर्न गएको गोर्खाली सेना देखेपछि दुल्लुका सम्पूर्ण जनताहरू घर छोडेर भागेका र जनताहरू डराएर भागेपछि दुई पक्षबीच लडाई नभएकाले उत्तिम शाहीले गोर्खाली सेनासँग आत्मसमर्पण गरी सहयोग गर्ने कबुल गरे पछि गोर्खा राज्यको अधीनमा भएर पनि दुल्लु राज्यले रजौटाको सम्मान पाएको थियो।

    आफ्नो कबुल अनुसार उत्तिम शाहीले गोर्खाली सेनाहरूसँग लागेर नेपाल एकिकरणको पश्चिम विजय अभियानमा कोठागढीको युद्वमा वीरगति प्राप्त गरे युवा राजा उत्तिम शाहीकी रानी गर्भवती रहेकी र उत्तिम शाही निसन्तान नै परलोक भएको किम्बदन्तीमा उल्लेख गरिएको छ।

    उत्तिम शाहीकी  रानीबाट छोरा रुद्र शाहको जन्म भएर उमेर पुगेपछि उनका बाबु उत्तिम शाहीले लगाएको गुन सम्झेर रुद्र शाहीलाई दुल्लुको राजा बनाइएर दुल्लुका जनताको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्नेसमेत अधिकार पाएका थिए ।

    पृथ्वीनारायण शाहले राज गरेको दुल्लु राज्य 

    नेपाल एकिकरणपछि दुल्लु राज्यमा पृथ्वीनारायण शाह लगाएतका पाँच राजाले राज्य सन्चालन गरेका थिए। रुद्र शाह श्रीभक्त शाह भक्त बहादुर शाह पृथ्वीनारायण शाह र जंगबगादुर शाह क्रमैसँग दुल्लुका राजा भएका थिए।

    विक्रम सम्वत २०१८ साल सम्म यो व्यवस्था कायम रहे पनि नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि आधुनिक नेपालको ढाँचा बनेपछि दैलेख जिल्लाको आकार खुम्चिएर दैलेख बजारलाई दैलेख जिल्लाको सदरमुकाम कायम गरिएको थियोे। दुल्लुमा भएका सबै सरकारी अड्डा हरु दैलेख सदरमुकामा सारिएपछि उक्त क्षेत्र ओझेलमा पर्दै गएको थियो।

    दुल्लु क्षेत्रको संरक्षणमा बेखवर स्थानिय सरकार 

    संघियता लागु भएसँगै गाउँगाउँमा आएका स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका पुरात्तातिक सम्पदाको संरक्षण गर्नु पर्ने भएपनि दुल्लु दरवार र दुल्लु क्षेत्रमा रहेका एतिहासिक मृर्त अमुर्त सम्पदाको संरक्षणमा स्थानिय सरकाले चासो नदिएको देखिन्छ। 

    दुल्लु आफैमा ऐतिहासिक क्षेत्र भएपनि उत्त क्षेत्रको संरक्षण नहुदाँ अहिले दुल्लु क्षेत्रको महत्व कम हुदैँ गएको छ। दुल्लु नगरपालिकाले दुल्लुमा रहेको एतिहासिक पौवा दरवारमा दुल्लु संग्रालय निर्माण गरिएको भएपनि उत्त संग्राहलयमा अव्यवस्थित देखिन्छ।

    यता दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीलाई दुल्लु दरवारको संरक्षण पुन निर्माणमा स्थानिय सरकारले किन ध्यान दिन सकेन भन्ने थाहाखवरको प्रश्नमा उनले भने, 'उतिबेला दुल्लु दरवार बनेको जग्गा दुल्लुका अन्तिम राजा जंगबहादुर शाहका जेठा छोराका नाममा नाप नक्सा भएकाले पहिले स्थानिय सरकारलाई पुन निर्माण गर्न समस्या भएको थियो।" तर अहिले व्यत्तिले जग्गा दिन तयार भएकाले स्थानिय सरकारले दरवारको पुन निर्माणकालागि प्रदेश सरकार प्रर्यटन बोर्ड र पुरातत्व बिभागलाई डिपियार बनाएर पठायकाले अब दुल्लु दरवार पून निर्माण गरिने भण्डारीले बताए।

    उनले नगरपालिकाले मात्र दुल्लुको संरक्षण गर्न नसक्ने भन्दै संघीय सरकार कर्णाली सरकारले पनि समग्र कर्णालीको इतिहास बोकेको दुल्लु क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने भण्डारीले बताए।

उदयराज अधिकारी

अधिकारी थाहा खबरका दैलेख समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]