|

अछाम : बाजुरा प्रहरीको हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरीले आफूहरूमाथि हिरासतमा लिएर कुटपिट गरेको गुनासो गरेका छन्। गत कात्तिक २२ गते बाजुराको गौमुल गाँउपालिका-३ बाट पक्राउ परेका १६ जना कार्यकर्ताले बाजुरा प्रहरीबाट कुटपिट भएको आरोप लगाएका हुन्।

‘प्रहरीले हामीमाथि दुर्व्यवहार गरेको छ। हामीलाई पक्राउ गरेर ल्याएको अर्को दिनसम्म कुटपिट गरेको थियो,’ हिरासतमा रहेका उक्त पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले भने, ‘प्रहरीले कानुनी परामर्शका लागि वकिललाई र घरमा फोनसम्म गर्न दिएको छैन।’

हिरासत पुगेको मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिसमक्ष उनीहरूले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको बताएका हुन्। उनीहरूका अनुसार प्रहरीले आफन्त भेट्न, आफन्तलाई फोन गर्न र वकिललाई सम्पर्क गर्न दिएको छैन।

यस विषयमा बुझ्दा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले उनीहरूलाई त्यस्तो व्यवहार नगरेको प्रतिक्रिया दिए। डिएसपी भाटले भने, ‘पक्राउ गर्दा सामान्य बल प्रयोग गर्नुपरेको बाहेक उनीहरूले भनेको सबै कुरा झुठा हो।’ उनीहरूलाई सम्मानजनक व्यवहार गरेको बताउँदै उनले अगाडि भने, ‘अन्य ठाँउमा भएको भए हतियारसहित यति धेरै जना समात्दा गोली चल्न सक्थ्यो। तर हामी संयम भयौँ।’

प्रहरीले बरामद भएको भनेको हतियार पनि आफ्नो नभएको विप्लवका कार्यकर्ताहरूको भनाइ छ। उनीहरूका अनुसार प्रहरीले उनीहरूको झोला लगेपछि कागजातमा हतियार देखाएको हो। यसबारेमा प्रहरीले भने उनीहरूबाट बरामद भएको हतियार उनीहरूले स्वीकार गरेको दाबी गरेको छ।

पक्राउ पर्नेमा ११ जना पुरुष र ५ जना महिला छन्। महिलाहरूले प्रहरीले पक्राउ गर्दा मात्र कुटपिट गरेको बताए। पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य वली, बाजुराको त्रिवेणी नगरपालिका-२ छताराका डम्मर सुनार, अछाम जिल्लाको ढकारी गाउँपालिका-२का नरेश शाही, कैलालीको घोडाघोडी नगरपालिका-१ का दीपक प्रकाश सुनार रहेको प्रहरीले बताएको छ।

यस्तै, बाजुराको हिमाली गाउँपालिका-१ का अमलाल थापा, त्यही ठाउँका धर्मबहादुर थापा, अछामको पञ्चदेवल विनायक नगरपालिका-८का उदय कसेरा, अछामको ढकारी गाउँपालिका-२ का राजेश कुमार शाही, सोही गाउँपालिका-७ का डबलबहादुर नेपाली, तुर्माखाद गाउँपालिका-८का कृष्ण विक छन्।

त्यसैगरी, बाजुराको हिमाली गाउँपालिका-१ का धर्मसिंह बोहरा, स्वामीकार्तिक गाउँपालिका-१ बस्ने कुस्मा बिक सोही गाउँपालिका-१ बस्ने अस्मिता बिक सोही ठाउँ बस्ने सुस्मिता बिक, अछामको ढकारी गाउँपालिका-२ बस्ने कमला बिक र बझाङको मष्टा गाउँपालिका-१ बस्ने श्रृष्टिसिंहलाई पक्राउ गरी हात हतियार तथा राज्यद्रोहको मुद्दा चलाइएको छ।

पक्राउ परेकामध्ये वली पार्टीका केन्द्रीय सदस्य तथा पुराना नेता हुन्। उनलाई प्रहरीले बेलाबेलामा पक्राउ गरेर मुद्दा चलाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.