|

इटहरी : सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको अभियोग लगाउने महिलाले निरन्तर र एकोहोरो म्यासेज फेसबुकमा पठाएको पाइएको छ। कृष्णदासमाथि बलात्कार जस्तो गम्भीर र संगीन आरोप लगाएकी महिलाले पठाएको म्यासेजले भने घटनालाई नयाँ रुप दिएको छ।

गिरीमाथि कात्तिक ४ गते बलात्कार गरेको आरोप लगाएकी महिलाले पठाएका एसएमएसको लामो श्रृंखला नै प्रहरीले संकलन गरेको छ। तीमध्ये केही म्यासेज प्रहरीले नै सार्वजनिक गरिदिएको छ। ती महिलाले ६ महिनायता एकोहोरो पठाएका म्यासेज जम्मा गर्दा करिब ५२ पृष्ठको नोट नै बनेको प्रहरीले जनाएको छ ।

प्रहरीले संकलन गरेको म्यासेजबाट महिलाले नै निरन्तर भेट्न खोजेको देखिएको हो। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाए पनि उनै महिलाले भने आफैँ जबरजस्ती भेट्न त्यहाँ पुगेको म्यासेजले देखाएको हो।

प्राप्त फेसबुक च्याटको स्क्रिन सर्टमा पीडित भनिएकी महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकृतले बताए। गिरीलाई भेट्न पाऊँ, चुम्बन गर्न पाऊँ, अंकमाल गर्न पाऊँ भन्ने खालका अनगिन्ती म्यासेज ती महिलाले पठाएकी छिन्। 

महिलाले ६ महिनादेखि यसरी निरन्तर म्यासेज गरे पनि सिद्धबाबाले कुनै जवाफ फर्काएको प्रहरीले भेट्टाएको छैन। 'केही त गरिस्यो, हरेक रात हजुरसँग बितोस, होइन भने मर भनिस्यो', केही म्यासेजमा उनले भनेकी छिन्, 'मेरो इच्छा पुरा गरेर जति गाली गरेनी गरिस्यो।'

गिरीलाई आरोप लगाउने महिलाले विभिन्न बहानामा कृष्णदाससँग भेट्ने आकांक्षा राखेको म्यासेजबाट देखिएको छ। एकोहोरो प्रेममा परेको जस्तो देखिने ती महिलालाई कृष्णदासले कुनै जवाफ फर्काएका छैनन्। अर्कातिर उनले एकोहोरो आशक्तियुक्त म्यासेज पठाउने महिलासँग प्रतिवाद पनि गरेको देखिँदैन।

तर कृष्णदासका अनुयायीहरू धेरै पटक एकोहोरो म्यासेज पठाएपछि गुरूले गाली गरेको बताउँछन्। कात्तिक १ गते साँझ गरिएको आरतीमै धेरैजना अनुयायी र भक्तजनका अगाडि कृष्णदासले गाली गर्दै आइन्दा त्यस्तो म्यासेज नगर्न चेतावनी दिएको बताउँछन्। 

गिरीले चेतावनी दिँदासमेत म्यासेज नरोकिएपछि कात्तिक १९ गते ‘सार्वजनिक गाली बेइज्जती’ गरेको भन्दै काठमाडौंको केन्द्रीय अनुसन्धान ब्यूरोमा निवेदनसमेत दिएको गिरीका अनुयायीमध्ये एकजनाले दाबी गरेका छन्। 

चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका अनुसार आरोप लगाउने महिला मसिंर २७ गते ताप्लेजुङको पाथीभरा मन्दिरको धार्मिक भ्रमणको क्रममा चतरासमेत आएकी थिइन् । तीन दिनको भ्रमणपछि ती महिला आश्रममै बसेर ६ गते काठमाडौ फर्किएकी थिइन्।

पीडित भनिएकी महिलाको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान थालेको छ । बिहीबार घटनास्थल पुगेर जिल्ला प्रहरी कार्यालय सुनसरीले स्थलगत मुचुल्का तयार पारिसकेको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.