|

इलाम : सन्ततिका लागि अभिलेखीकरण हुने खालका साहित्य तथा लेख लेख्नु पर्नेमा इलाममा आयोजित साहित्य विमर्शमा सहभागी कार्यक्रमका वक्ताहरूले बताएका छन्।

सूर्योदय नगर पर्यटन महोत्सवको अवसरमा पर्यटकीय क्षेत्र कन्यामको निर्माणाधीन शान्ति पार्कमा आयोजित कार्यक्रमको 'प्यानल डिस्कसन' मा बोल्दै पत्रकार मोहन मैनाली र सिर्जनशील अराजकताका अभियान्ता साहित्यकार हाङयुग अज्ञातले लेख, रचना र साहित्य बाहिरको भन्दा भूगोलभित्र बसोबास गरेको भाषी, जाति र यस क्षेत्रको समाज र प्राकृतिक सम्पदाको विषयमा लेख्दा त्यसले मूर्त रुप लिने बताए। 

पत्रकार केदार शर्माले आजको साहित्य कस्तो रहनुपर्छ?’ भन्ने प्रश्नकाे जवाफमा वक्ता मैनालीले आउने सन्ततिका लागि अभिलेखीकरण हुने खालका साहित्य तथा लेख लेख्दा त्यसले एउटा गतिलो इतिहास रहने बताए। उनले आफू पत्रकार मात्र भएको साहित्यकार हुन नसकेको पनि बताए।

पत्रकारितामा देशका विभिन्न भाग र राजनीतिक पद्धतिमा महसुस भएका घटना पत्रकारका हिसाबले हेर्दा त्यसले पुस्तकको आकार लिएकाले आफू साहित्यकार नभएको मैनालीको भनाई थियो। अर्का वक्ता हाङयुगले युग बुझाउने साहित्य नै नियात्रा भएको बताए। एकले अर्को समाजको अध्ययनले मात्र साहित्यले समाजको भाषा बोल्ने बताए।

दुवै साहित्यकारलाई आउने सन्ततिले कस्ता साहित्य उठाउन जस्तो लाग्छ भनी गरिएको प्रश्नमा हाङयुगले भने,‘साहित्यको रेखा हुँदैन। यसको बाटो हुँदैन।’ अर्का वक्ता मैनालीले भने, ‘लेखिएका हरेक पाटाहरू सन्ततिका लागि गतिलो अभिलेख हुन्छ। त्यसैलाई साहित्य ठानिन्छ। आउँदै गरेका सन्ततिले देखेका कुराहरू शैलीवद्ध लेख्न सकेमा त्यो नै साहित्य हुन्छ।’

पत्रकार शर्माले आगामी पुस्तकको बारेमा राखेको जिज्ञासालाई स्पष्ट पार्दै मैनालीले भने, ‘आउने लेख मेरो तम्मर नदीका किनारमा जीवन जीउँदै बसेकाहरूको कथा व्यथा रहने छ। ताप्लेजुङकाे घुन्सादेखि सप्तकोशी नपुगुन्जेलसम्म त्यहाँ किनारका बस्तीको परिवेश नै नयाँ पुस्तकका कथा हुन्।’ 

युवा साहित्यकार मुनाराज शेर्माले प्यानल डिस्कसन अघि एक घण्टा लामो ‘समाज र साहित्य’ विषयमा साहित्यले निर्देश गरेका शव्द राजनीतिक क्षेत्रले बुझ्न नसक्दा विकासका बाटो पहिल्याउन समस्या भएको बताए।

मानव सभ्यतालाई समाजको ऐनाको रुपमा देखाउने साहित्य क्षेत्रको बाटो दूरदर्शी हुने हुँदा राजनीतिले त्यसलाई बुझ्नु पर्नेमा उनले जोड दिए। शेर्माले नेपालमा लेखिएका साहित्य एक जाति विशेषको बढी भएको हुँदा सर्वजातिको भावना र त्यसका संस्कृतिसँगै मिथकलाई पनि राज्यले उजागर गर्न सहयोग गर्नुपर्ने बताए।

‘परिवर्तनका पाइलामा साहित्यको भावले जनमानसलाई सचेत गराउँदै राजनीतिलाई साथ दिइरहेको हुन्छ। त्यो कुरा जननिर्वाचित प्रतिनिधिले बुझ्न जरुरी छ’ शेर्माले भने। रोम शहर जलिरहेका बेला तत्कालीन शासकले मुरली बजाएको सन्दर्भ उल्लेख गर्दै शेर्माले राजनीतिले ध्वस्त पारेको संसारलाई कलाले मात्र सिगार्न सक्ने बताए। 

हिजोको एकतात्मक प्रणाली अन्त्यका लागि साहित्यका शव्द गाउँका कुना कन्दरामा पुगेका कारण आज संघीयता अभ्यास सुरु भएको उनको भनाई थियो। प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले साहित्यका विषयमा आफ्ना भनाइ राखेकी थिइन्।

कार्यक्रममा इलाम, झापा र पाँचथरका एकदर्जन बढी कवि र सर्जकले आफ्नो रचना प्रस्तुत गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.