|

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध रूपमा नबुझी सहकार्यको रूपमा बुझिनुपर्ने बताएका छन्। नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले निर्माण गर्न लागेको भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै, ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ’ भने।

वरिष्ठ पत्रकार तथा समूहका पूर्व अध्यक्ष भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न कालखण्ड पार गर्दे वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहको लागि आज ऐतिहासिक दिन रहेको बताए। सरकारसँग नजिकमा रहेर वातावरण र विकासको मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै नेवापसका महासचिव निमेष रेग्मीले विगत ३३ वर्षदेखिको सपना साकार हुन लागेको बताए। ठूलो परिवार एकीकृत भएको भन्दै वातावरण, दिगो विकास र नेपालको संरक्षणको लागि प्रयास गर्दै आएको उनले बताए।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, अन्य सरकारी अधिकारी, नेवापसका पूर्वपदाधिकारी, सदस्य तथा वातावरणविद्हरूको उपस्थिती थियो।

भवन निर्माणका लागि नेवापसले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पि.सी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटडको संयुक्त उपक्रम (जेभी) सँग आफ्नो भवन निर्माणका लागि सम्झौता गरेको छ। एक करोड पचास लाख लगानीमा नेवापसको भवन निर्माण हुन थालेको हो। आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य नेवापसले जनाएको छ।

तीन दशक भन्दा लामो समयदेखि वातावरण पत्रकारिताका क्षेत्रमा सक्रिय सो समूहले रेडियो सगरमाथा आँखिझ्याल टेलिभिजन कार्यक्रम हाकाहाकी प्रकाशन गर्नुका साथै पत्रकारहरुलाई तालिम र प्रबर्द्धनात्मक कामहरु गर्ने गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.