|

दमक (झापा) : दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा विभिन्न उद्यम सुरु भएका छन्। ती उद्यममा महिला सहभागिता उल्लेख्य छ। अचार बनाउने, च्याउ खेती गर्ने जस्ता उद्यम महिलाहरुकै सहभागितामा भइरहेका छन्। 

बेलडाँगी २ सी १ शिविरमा १४ जना महिलाले भुटानी शरणार्थी महिला स्वावलम्बन समूह गठन गरी अचार उद्योग सुरु गरेका छन्। गत वर्ष कारिटास नेपालले तालिम दिएपछि १४ जनाले एक/एक हजार रुपैयाँ संकलन गरी लघु उद्योग सञ्चालनमा ल्याएका हुन्। तालिममा १७ जना सहभागी भए पनि उद्यम सञ्चालनमा भने १४ जना सहभागी भएको समूहकी कोषाध्यक्ष बिष्णुमाया गुरुङले जानकारी दिइन्। यहाँ उत्पादित अचार पुनस्र्थापनाका क्रममा अमेरिका पुगेका भुटानी शरणार्थीहरुका लागि कोसेलीका रुपमा पुग्ने गरेको छ। शिविरमा रहेकाहरुले अमेरिकामा रहेका आफन्तका लागि कोसेली पठाउने गरेको उनले बताइन्।

अचार उद्योगको नाम र ब्रान्डमा भुटानी राष्ट्रियता जोडेका छन्। अचारको ब्राण्ड ड्रागन छ। ड्रागन भुटानको राष्ट्रिय झण्डामा अंकित चिह्न हो। अचारको ब्राण्डले पनि शिविर र विभिन्न मुलुक पुगेका शरणार्थीहरुलाई जोड्न सहयोग पुर्‍याएको उनीहरुको भनाइ छ।

दाताले छोडेपछि आत्मनिर्भर बन्दै

अढाई दशकसम्म दाताले नापतौल गरेर दिएको रासनमा जिउन बाध्य भुटानी शरणार्थीहरु आफ्नै उद्यममा बाँच्न सिक्न थालेका हुन्। शरणार्थीहरुको तेस्रो देश पुनस्र्थापना कार्य पूरा भएसँगै दाताले सहयोग कटौती गरेपछि उनीहरु आफ्नै कमाई गर्न सामूहिक रुपमा लागेका हुन्। यस्ता सीप प्रदानमा भने सहयोग काट्दै गएका दातृ संस्थाहरुलेनै सहयोग गरेका छन्। 

‘तालिम सक्दा अभ्यासका लागि ल्याइएका केही समान दिनुभएको थियो। त्यसैमा एक÷एक हजार रुपैयाँ थपेर अचार उत्पादन थालेका हौं,’ कोषाध्यक्ष गुरुङले भनिन्, ‘अहिले सुरुवाती समय छ, त्यसैले धेरै बनाउन सकेका छैनौं। तर, यसलाई क्रमशः बढाउने तयारी छ।’ 

तेस्रो मुलुक पुनर्वासमा गएकाहरुको खाली छाप्रोलाई उनीहरुले उद्योगको सञ्चालन गर्ने ठाउँ बनाएका छन्। उनीहरुको उद्योगमा लप्सी, गाजर, जलपाई, कागती, आँप, डल्ले खुर्सानीलगायतको अलग अलग तथा ‘मिक्स’ अचार उत्पादन हुँदै आइएको छ। यहाँ उत्पादित अचारका लागि बजारको समस्या नभएको उनीहरुको भनाइ छ। उत्पादन स्थलमानै आएर व्यवसायी तथा उपभोक्ताले लैजाने गरेका छन्।

शिविरभित्रै च्याउ खेती

शरणार्थी शिविरकै ६ जना महिलाले सामूहिक रुपमा च्याउ खेती समेत गर्दै आएका छन्। तीन छिमल च्याउ तयार पारिसकेका छन्।

सुरुमा एक हजार पोकाबाट च्याउ खेती थाले पनि समूहका सदस्यहरुको संख्या घटेपछि पछिल्लो पटक ४०० पोकामा मात्र खेती गरिएको समूहकी सदस्य देवीमाया गुरुङले बताइन्।

‘च्याउ खेती खासै गाह्रो पनि रहेनछ, बजारको पनि समस्या छैन,’ उनले भनिन्, ‘तर अहिले धेरैको घर बनाउने बेला छ। त्यसैले समय दिन गाह्रो भइरहेको छ।’ सुरुमा प्रतिसदस्य एक/एक हजार रुपैयाँ लगानी गरेर खेती थालेकाहरुले छोटो समयमानै लगानीसहित केही फाइदा पनि लगेका छन्। तर, खेती विस्तारको समय भएकाले फाइदा रकमले च्याउ खेतीका लागि चाहिने पराल, प्लाष्टिकलगायतका समान खरिदमा समेत लगानी गर्दै लगेको उनीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.