ताप्लेजुङ : किराँत समुदायको बाक्लो बसोबास रहेको क्षेत्र ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लामा चासोक तङ्नामको रौनक सुरु भएको छ। प्रकृति पूजक किराँत समुदायले विशेष महत्वका साथ मनाँउने पर्व सुरु भएसँगै पूर्वी पहाडी जिल्लाहरूमा यसको रौनकता छाएको हो।
उधौली अर्थात् न्वागी पूजासहित मनाइँने चासोक तङ्नाम बुधबारदेखि सुरु भएको हो। विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामूहिकरूपमा पूजाआजासहितका कार्यक्रम आयोजना गरि चासोक तङ्नाम मनाउँदैछन्। धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रूपमा यस पर्वलाई मनाउँदै आएका छन्। लिम्बू समुदायमा अनादिमकालदेखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ।
अन्नलाई किराँत समुदायले माङ् (देवता) को रूपमा मान्छन्। धान पाक्ने समय कात्तिकदेखि धान्य पूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ। चासोक तङ्नामलाई न्वागी पूजाको रूपमा समेत लिइन्छ। ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा पूजाआजासहित आयोजना गरिन्छ। ताप्लेजुङमा भने बुधबार र बिहीबार दुई दिनसम्म नै किराँत समुदायको परम्परागत भेष–भूषा र गर–गहनाको पहिरनसहित पालाम, धान नाच र च्याब्रुङ नाचको समेत आयोजना हुने भएको छ।
विभिन्न खेलकुदलगायतका प्रतियोगितासहित आयोजित कार्यक्रममा लिम्बू समुदायको परम्परागत परिकारको स्टलसमेत राखिएको छ। किराँत समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किराँत समुदाय विशेष संघसस्था पनि सक्रिय हुन थालेका छन्।
आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्षसँग आव्हान गरेको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य भद्र बोखिमले बताए। चासोक तङ्नाम लिम्बू समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा धुमधामले मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।