|

काठमाडौं : प्रदेश १ सरकारले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि विभिन्‍न क्षेत्रमा ख्याति कमाएका ९ जनालाई पर्यटन सद्‍भावना दूत नियुक्त गरेको छ।

प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्‍दावा शेर्पा अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्‍भावना दूत नियुक्त गरेको हो। 

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्‍भावना दूतको प्रमाणपत्र प्रदान गरे।

 मुख्यमन्त्री राईले प्रदेश १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेका छन्। मुख्यमन्त्री राईले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी दिए। 

भिजिट नेपाल २०२० मा प्रदेश सरकारले आफ्नो प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए। 
 
कार्यक्रममा संघीय पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.