|

(दमक, झापा) : लगातार रुपमा अण्डाको मूल्य ओह्रालो लागेपछि प्रदेश १ का कुखुरा पालक किसानको झण्डै दुई अर्व रुपैयाँ जोखिममा परेको छ। प्रदेशमा रहेका ३०० भन्दा बढी व्यावसायिक फर्ममा दुई अर्बको हाराहारीमा लगानी भएको अण्डा उत्पाक संघको भनाइ छ। तर, सरकारले अण्डाको बजार व्यवस्थापन गर्न नसक्दा र विचौलिया हावी हुँदा लगानी संकटमा परेको हो।

अण्डा उत्पादनक संघ प्रदेश १ का अध्यक्ष माधव पराजुलीका अनुसार प्रदेश १ मा रहेका ३५० फार्मको स्थायी संरचनामा मात्र डेढ अर्ब लगानी पुगेको छ। ‘यस प्रदेशमा ३५० फर्म छन्। यी फर्ममा औसतमा ५ लाख कुखुरा रहन्छन्,’ उनले भने, ‘एउटा कुखुराको फर्मको संरचनामा सरदर तीन हजार खर्च भएको छ। यसरी हेर्दा संरचनामा निर्माणमा मात्र डेढ अर्व लगानी भई सकेको छ।’ 

यस्तै, एउटा कुखुरा अण्डा उत्पादनका लागि योग्य बनाउँदा कम्तीमा पनि ५०० रुपैयाँ खर्च भएको हुन्छ। अण्डा उत्पादनका लागि सक्षम बनाउन मात्र पाँच लाख कुखुरालाई २५ करोड रुपैयाँ खर्च भएको हुन्छ। ‘यही पेशामा लगानी र समय धेरै खर्च भइसक्यो,’ कुखुरा पालनमा लागेका दमकका उद्यमी किसान देवराज अधिकारीले भने, ‘यहाँको लगानी छोडेर अरु पेशा रोज्न सक्ने अवस्था पनि छैन। त्यसैले घाटा सहरै पोल्ट्री व्यवसाय गरिरहनु परेको छ।’

पोल्ट्री व्यवसाय दुई वर्षदेखि ओह्रालो लाग्न थाले पनि लगानी गर्ने क्रम समेत नरोकिएको दमकको मेघा एग्रिकल्चर फार्मका सञ्चालक भरत चम्लागाई बताउँछन्। बजारको अवस्था नबुझी लगानी हुने क्रम बढेकाले यो क्षेत्र अस्तव्यस्त हुँदै गएको उनको बुझाइ छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा जाने योजना त्यागेका, सरकारी जागिरबाट अवकास पाएका लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको रोजाइको क्षेत्र पोल्ट्री व्यवसाय बनको छ। तर, सरकारले यो क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा भएको लगानी पनि संकटमा परेको मझौला उद्यमी तथा किसानहरुको भनाइ छ।

प्रदेश १ का ३५० फर्ममध्ये अधिकांश झापा, मोरङ र सुनसरीमा रहेका छन्। तीमध्ये पनि झापामा मात्र १५६ वटा रहेको संघले जनाएको छ। पोल्ट्री व्यवसायको प्रवर्द्धनका लागि सरकारले पनि किसानमैत्री नीति ल्याउनु पर्ने संघका सुनसरी अध्यक्ष दुर्योधन निरौला बताउँछन्। 

बोलवालानै बलिया

पोल्ट्री व्यवसायमा सरकार, किसान र उपभोक्ता भन्दा विचौलिया बलिया भएका कारण किसान तथा उद्यमीहरु मारमा पारेका छन्। एउटा अण्डा उत्पादनमा कम्तीमा ९ रुपैयाँ खर्च भएको हुन्छ। तर, किसानले ७ रुपैयाँ ५० पैसा मात्र पाइरहेका छन्। तर, त्यो अण्डा फर्म आसपासकै उपभोक्ता तथा बजारमा १० देखि १२ रुपैयाँ प्रतिगोटा बिक्री हुने गरेको छ।

नौ वर्षदेखि कुखुरा पालन व्यवसायमा रहेका दमक नगरपालिका–९ को पहाड तराई कृषि फार्मका सञ्चालक झरेन्द्रप्रसाद गुरागाँई भने, ‘लागत उठ्ने गरी मूल्य राख्दा अण्डा बिक्दैन, लामो समय सम्म राखौं भने राख्न पनि मिल्दैन। त्यसैले बिचौलियाले जति मूल्य दिन्छन् नबेची हुँदैन।’ 

प्रदेश १ अण्डा उत्पादनका दृष्टिकोणबाट आत्मनिर्भर छ। तर, देशका अन्य भागबाट समेत अण्डा आउने गरेकाले स्थानीय उत्पादनलाई बजार पाउन कठिन भइरहेको संघले जनाएको छ। 

आत्मनिर्भरता र आयात प्रतिस्थापनको नीति लिएको सरकारले समेत स्वदेशी लगानीकर्ता र किसानको संरक्षण गर्न नसकेको अण्डा उत्पादक संघका केन्द्रीय सदस्य विनोद अधिकारी बताउँछन्। सरकारले पोल्ट्री क्षेत्रमा ठूला लगानीकर्ता तथा विदेशी लगानीकर्तालाई प्रशय दिने गरी खुकुलो नीति बनाएकाले स्वदेशी किसान र लगानीकर्ता निराश हुनु परेको उनको भनाइ छ। 

सरकारसँग अपेक्षा

हजारौं किसानको स्वरोजगारीको क्षेत्र बनेको पोल्ट्री व्यवसाय संरक्षणका लागि सरकारले किसानमैत्री नीति बनाउनु पर्ने किसानहरुको माग छ। पोल्ट्री व्यवसायभित्रका लगानीका क्षेत्रहरु ह्याचरी, दाना, अण्डा तथा मासु व्यवसायमा वास्तविक किसानको लगानी सुरक्षणको व्यवस्था गर्नु पर्ने संघका केन्द्रीय सदस्य विनोद अधिकारी बताउँछन्। पोल्ट्री उद्योगमा सरकारले विदेशी र ठूला लगानीकर्तालाई भित्र्याउनुअघि नेपाली किसानको लगानी सुरक्षाको वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ।

‘सरकारले केही सीमित व्यक्तिको अनुकूलमा नीति बनाउने हो भने यहाँका हजारौं किसानको उठिवास लाग्दैछन्,’ उनले भने, ‘किसानलाई उठिवास लगाउने, सुकुमबासी बनाउने र विदेशनै खेदाउने कि भएको लगानीको सुरक्षाको वातावरण मिलाउने सरकारको हातमा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.