|

पर्वत : पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित खोलाखेतकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन्।

मोतियाबिन्दुका कारण केही वर्षदेखि उनको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो। तर अब उनी देख्न सक्ने भएकी छिन्। ‘देउरे आँखाले अलि अलि भेम पाएर यताउति गर्थेँ। साह्रै गाह्रो भएको थियो।’ उनले भनिन, ‘आज आँखाको अप्रेसन भयो अब त देख्न सक्छु भनेका छन्।’

फलेवास नगरपालिकाकै चन्द्रबहादुर परियारको पनि डेढ वर्षदेखि आँखामा जालोले ढाकेको थियो। यही कारण उनलाई हिँडडुलका लागि निकै समस्या भएको थियो। उनले पनि अब भने दुवै आँखाले देख्न सक्नेछन्।

पर्वतका विभिन्न लायन्स क्लब मिलेर आयोजना गरेको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा उनले पनि शल्यक्रिया गराएका छन्। ‘उकालोमा त जसोतसो हिँडियो, ओरालोमा त छामेर बसी बसी हिँड्नुपरेको थियो’ शल्यक्रियापछि चन्द्रबहादुरले भने, ‘दाहिने आँखामा जालो भरिएको थियो, हेर्न खोज्दा पुतली उडेको जस्तो मात्र देखिन्थ्यो अब ठीक त दुवै आँखाले देख्न पाउने भइयो।’

पर्वतमा मोतियाबिन्दुको शल्यक्रिया हुन नसक्नु तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बसेका ५० जनाको बिहीबार जिल्ला अस्पताल पर्वतमा राखिएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिएको छ। शिविरमा आँखा परीक्षण र मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क रूपमा गरिएको छ भने औषधि र चस्माका लागि सम्बन्धित बिरामीलाई न्यूनतम खर्च मात्र तिराइएको छ।

प्रायः गरी घरको आर्थिक अवस्था न्यून भएका कारण रोग पालेर बसेकाहरू नै शिविरमा उपचारको लागि आएकाले गरिब तथा दलितहरूले आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर बस्नुपर्ने बाध्यतामा रहेको अवस्था शिविर सञ्चालनमा देखिएको पनि शिविरमा संलग्न लायन्सहरुले बताएका छन्।

लायन्स क्लब अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माका अनुसार लायन्स क्लब अफ शिवालय कुस्मा, लायन्स क्लब अफ पर्वत मोदी काली र लायन्स क्लब अफ पर्वत कुस्मा सिटीले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा जिल्लाका ४ ठाउँमा पुगेर आँखाका बिरामीको परीक्षण गरेपछि शल्यक्रिया गर्नुपर्नेहरूलाई एकै ठाउँमा जम्मा पारेर शल्यक्रिया गरिएको हो।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुस्मा नगरपालिकामा चलाइएका आँखा शिविरहरूमा ८ सय ७० जनाको आँखा परीक्षण गर्दा ५० जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो। आँखाको परीक्षण र शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराको टोली खटिएको छ।

लायन्सले सञ्चालन गरेका आँखा जाँच र शल्यक्रिया शिविरका लागि आवश्यक खर्च पनि लायन्सहरुले नै व्यवस्थापन गरेका हुन्। केही वर्ष अगाडिसम्म स्वास्थ्य शिविर सञ्चालन गर्न विदेशी लायन्स क्लबबाट डोनेसन आउने गरेको भए पनि पछिल्ला चार वर्षयता कुनै पनि डोनेसन नआएको शर्माको भनाई छ।

‘चार वर्ष अगाडिसम्म डोनेसन आउँथ्यो धेरै शिविरहरू चलाउन सकिन्थ्यो। अहिले डोनेसन आउन छोडेको छ’ उनले भने, ‘हामीहरूले खल्तीको पैसा खर्च गरेर शिविर चलाएका हौँ। कहीँ कतैबाट डोनेसन आएको छैन।’ उनका अनुसार ४ ठाउँमा राखिएका शिविर र एक ठाउँमा राखिएका मोतियाबिन्दु शल्यक्रिया शिविरमा ३ लाख भन्दा बढी खर्च भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.