|

पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशस्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए।

पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४ सै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

भ्रमण वर्षको पर्यटन प्रवर्द्धनका लागि सचिवालयले ६५ करोडको माग गरे पनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व  पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए।

हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ थियो। विमानस्थलका लागि थप आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै उनले जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे।

पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्फत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.