शक्ति राष्ट्रको पर्यटन कूटनीति

|

काठमाडौं  : नेपाल भ्रमण वर्षको प्रचारमा विश्‍व महाशक्ति अमेरिका र उदाउँदो अर्को शक्ति चीनका नेपालस्थित विभिन्‍न एजेन्सीबीच प्रतिस्पर्धा चलेको छ। भ्रमण वर्षको सुरुवातसँगै दुवै देशका लागि रणनीतिक महत्वको नेपालले थालेको महाअभियान सफल बनाउन यहाँस्थित कूटनीतिज्ञ जोडतोडका साथ लागेका हुन्। 

भूकम्पपछि क्षतिग्रस्त नेपालका सम्पदा निर्माणमा सघाइरहेका यी दुई ठूला देशका काठमाडौंस्थित कूटनीतिज्ञहरुले अहिले भ्रमण वर्ष सफल बनाउन प्रचार अभियान नै थालेका हुन्। 

कलाप्रेमी चिनियाँ राजदूत

चरी जस्तै उड्न पाए, गगनको तलतिर...

मेलिना राईको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा गत वर्ष फागुन २५ गते चिनियाँ राजदूत होउ याङ्छी छमछमी नाचेकी थिइन्। नेपाल आएको छोटो समयमै नेपाली कला संस्कृतिसँग भिजेकी उनले त्यसबेला गरेको नृत्यले धेरै नेपालीको मन जितेको थियो।

चिनियाँ राजदूतावासद्वारा गत वर्ष १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रममा यो गीतमा राजदूत याङ्छी नेपाली पहिरनमै नाचेकी थिइन्। 

नेपालीको मन जित्‍न तल्लीन उनै राजदूत याङ्छीले यही डिसेम्बर ३१ का दिन नेपालका सम्पदासँगै खिचेर सार्वजनिक गरेका मोहक तस्बिरले धेरैको ध्यान खिच्यो। 

काठमाडौंसहित देशभर भ्रमण वर्षको सुरुवातको अघिल्लो दिन अर्थात् डिसेम्बर ३१ मा चिनियाँ राजदूत होउ यान्छीले माइक्रो ब्लगिङ साइट ट्‍विटरमार्फत् भ्रमण वर्ष प्रचार अभियान थालिन्। 

यान्छीले नेपाल भ्रमण बर्ष-२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिइन्। साथमा उनले नेपालको प्रसंशा गर्न पनि चुकिनन्। ट्वीटरमा सुन्दरी राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरेकी थिइन्।

सामाजिक सञ्‍जालमा भिजिट नेपाल ह्यास् ट्याग प्रयोग गर्दै राजदूत यान्छीले यसलाई सफलताका लागि साथ दिने पनि बताइन्। सिसिटिभी एसिया प्यासिफिकको तर्फबाट गरिएको ट्विटमा नेपाल सदैव साँच्चिकै सुन्दर रहेको बताउँदै यसले जोसुककै हृदय छुने भनेर चर्चा गरिएको छ। 

राजदूत नै नेपाल भ्रमणको प्रचारमा उत्रिएका बेला चीनबाट सडकमार्ग हुँदै बुधबार रसुवागढी नाकाबाट १२० भन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए। हवाईमार्गबाट भित्रिनेको संख्या उत्तिनै छ। नेपालले चिनियाँ पर्यटकका लागि भिसाबापदको शुल्क लिने गरेको छैन। 

प्रचारमा अमेरिकी राजदूत

नेपालस्थित अमेरिकन राजदूत रेण्डी बेरी यहाँको कला संस्कृति, खानपान र रहनसहनसँग राम्ररी भिजेका कूटनीतिज्ञमा पर्छन्। उनी मिलेसम्म नेपाल घुम्‍न निस्किरहन्छन्। कहिले प्रदेश २ को जनकपुर त कहिले प्रदेश ४ को मुस्ताङ भ्रमणमा निस्किरहन्छन्। 

घुम्न र नेपाली परिकार खान मन पराउने उनी नेपाल भ्रमण वर्ष सफल बनाउन प्रचार अभियानमा होमिएका छन्। राजदूत बेरी नेपाली परिकार म:मका त पारखी नै हुन्। बिहीबार मात्रै नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा उनका केही तस्बिर हालेर भ्रमण वर्षको प्रचार थालेको छ। 

दूतावासका अनुसार भ्रमण वर्षलाई सघाउन जनवरी महिनाभर नेपालस्थित अमेरिकी मिसनका सबै सामाजिक सञ्‍जालहरुमा नेपाललाई एक उत्कृष्ट गन्तब्यका रुपमा प्रचार गर्ने घोषणा राजदूत बेरीले गरेका छन्।

'नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। राजदूत बेरीले आफ्नो ट्वीटरमार्फत यस अभियानलाई सघाउन जनवरी महिनाभर नेपालस्थित अमेरिकी मिशनका सबै सामाजिक संजालहरूमा नेपाललाइ एक उत्कृष्ट पर्यटकीय गन्तब्यको रूपमा प्रचार गर्ने घोषणा गर्नुभएको छ', दूतावासले भनेको छ। 

दूतावासले राजदूत बेरीकै प्रस्तावमा नेपालस्थित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्बिरहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने अर्को योजना पनि ल्याएको छ। 

'आउने केही साता हामी नेपालस्थित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर यहाँहरू समक्ष बाँड्नेछौं', दूतावासले भनेको छ, 'जसले नेपाल घुम्‍न आउने हजारौं अमेरिकी पर्यटक जस्तै नेपालको सुन्दरतामा रमाउन मन पराउनुहुन्छ।'

दूतावासले बिहीबरै राजदूत बेरीले गत वर्ष नेपाल घुम्दाको केही क्षणहरू समेटिएका तस्बिर पनि सार्वजनिक गरेको छ। 'नेपाल पर्यटन बोर्डलाई कार्यक्रमको सफलताको शुभकामना', दूतावासको तर्फबाट अन्तिममा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.