सन्तोषको १०० गोल पूरा

|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार थ्रीस्टार क्लब तेस्रो जित निकालेको  छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ को गोल अन्तरले पराजित गर्दै थ्रीस्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। थ्रीस्टार ब्रिगेडमाथि खेलको अन्तिम समयसम्म हाबी भयो।

खेल सुरु भएको १५ मिनेटमै सुशान्त श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। ४१औँ मिनेटमा म्यान अफ दी म्याच अनन्त तामाङले अर्को गोल थपेपछि थ्रीस्टारले पहिलो हाफमै २-० को अग्रता बनायो। दोस्रो हाफमा पनि उसले गोल थप्न धेरै समय लगाएन। ५८औँ मिनेटमै विदेशी खेलाडी वासी हजमतले टिमका लागि तेस्रो गोल गरे। ब्रिगेडका रोशन रानामगरले ९०औँ मिनेटमा सान्त्वना गोल फर्काए।

तुलनात्मक रूपमा कमजोर ब्रिगेड ब्याइज दोस्रो हाफको ६६औँ मिनेटमा दिपेनराज सिंह रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। थ्रीस्टारका अशोक खवासलाई लडाएपछि दीपकले रातो कार्ड खाएका थिए।

आजको जितसँगै थ्रिस्टारले पाँच खेलबाट १० अंक बनाएको छ। थ्रीस्टारले अहिलेसम्म ३ खेल जित्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार बेहोरेको छ। समान खेल खेलेको ब्रिगेड ६ अंकसहित सातौँ स्थानमा छ।

सन्ताेषकाे शतकीय गाेल

अर्को खेलमा च्यासल युथ क्लब र पुलिस क्लब भिडिरहेका छन्। पहिलो हाफसम्म पुलिस २-१ ले अगाडि छ। यसैबीच च्यासलका सन्तोष साहुखलले आफ्नो करियरको सयौँ गोल गरेका छन्। पुलिसविरुद्ध जारी खेलको १८औँ मिनेटमा सन्तोषले व्यक्तिगत गोलको शतक पुरा गरेका हुन्।

ए डिभिजन लिगमा एक सयौँ गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्। २०६० मा थ्रीस्टारबाट लिगमा छिरेका सन्तोषले टिमका लागि ६ सिजन खेल्दै सर्वाधिक ५२ गोल गरे। यस्तैगरी एपीएफबाट ६, मनाङबाट १६ गोल, च्यासलबाट ७ गोल गरेका छन्।

जारी खेलमा त्यसअघि पुलिसका निरकुमार राईले पाँचौ मिनेटमै गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा पुलिसका सुमन लामाले अग्रता दोब्बर पारेका छन्। पुलिस लिगमा ७ अंकसहित छैठौं र च्यासल ४ अंक सहित नवौं स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.