समाज

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात, राजमार्ग अवरुद्ध

पुस २४, २०७६

    डडेल्धुराः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यो हिउँदमा तेस्रो पटक भारी हिमपात भएको छ। बुधबार रातिदेखि बाक्लो हिउँ परिरहेको हो। 

    डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ। 

    हिमपातले एक्कासी चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दैनिक श्रम र ज्यालादारीमा निर्भर मानिसहरु बढी प्रभावित भएका छन्। हिउँ जम्‍न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ। तर, झरीसँगै हिमपात भएकोले किसानहरू भने चाहिँ खुशी भएका छन्।

    मुख्य दुई राजमार्ग अवरुद्ध

    हिमपातले पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङको सडक अवरुद्ध भएको छ। सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त र दशरथचन्द राजमार्गमा सवारी आवागमन रोकिएको छ।

    डडेल्धुराको भीमदत्त राजमार्गअन्र्तगत भर्ने सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिकाको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण प्रमुख सडकहरु नै अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

    उनका अनुसार बुधबार राति हिमपात सुरु हुनुभन्दा पहिले नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। सवारीचालकहरुलाई सुरक्षित स्थान तथा बासस्थानमै साधन रोक्न लगाएपनि केही सवारीसाधन अगाडि गएकाले हिउँमा फसेका छन्। अवरुद्ध सडक डोजरको प्रयोग गरि खुलाउने प्रयास सुरु भइसकेको डिएसपी न्यौपानेले जानकारी दिए। 

    बिहान दुई बजेबाट सुरु भएको हिमपात अहिले पनि जारी छ। उता बैतडीको खोड्पे बजार, डोल्यामोट, सिरभाबर, मुस्याचोर, सतबाजलगायतका स्थानमा सडक बन्द छ। 

    यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा पनि हिमपात भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा हिमपात जारी रहेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिएका छन्। 

    हिमपातका कारण चिसो बढेकाले बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। चिसो बढ्दा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने भएकाले तातो तथा झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाएका छन्।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]