|

काठमाडौं : धनुषाको स्थानीय खोलाको गिट्टी बालुवा उत्खननको विरोधमा उत्रिएका युवकलाई टिपरले किचेर हत्या गरेपछि काठमाडौंका विद्यार्थीले दोषीमाथि कारबाहीको माग गरेका छन्। अवैध उत्खननको विरोध गरिरहेका स्थानीय २६ वर्षीय दिलीपकुमार महतोलाई धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा संचालित चुरियामाई बालुवा प्रशोधन केन्द्रको ना. ७ ख. ६४१३ नम्बरको टिपरले हत्या गरेको थियो।

पहिला कुटपिट र पछि टिपरले किचेर ज्यान गएको आफन्तले आरोप लगाएका छन्। चुरे क्षेत्रको संरक्षणका लागि आवाज उठाउँदै आएका अभियान्तालाई मिथिला नगरपालिकाका मेयरकै डोजरले हत्या गरेको दिलीपका छिमेकी साथि रोशनकुमार महतोको आरोप छ।

उक्त घटनाको विरोधमा स्वस्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका विद्यार्थीले संयुक्त श्रद्धाञ्जली कार्यक्रम गर्दै आफूहरू जनप्रतिनिधिबाटै असुरक्षित रहेको बताए। कार्यक्रमको संयोजन गरेको विद्यार्थी जनमत संघ काठमाडौंका संयोजक नवरत्न शाहले दोषीलाई कारबाही नगरे आन्दोलन चर्काउने चेतावनीसमेत दिए।

श्रद्धाञ्जलीसभामा सहभागि वातावरण संरक्षण अभियानमा लागेका राजन सुवेदी वातावरण संरक्षण अभियान्तामाथि भएको जघन्य अपराध स्वीकार्य नहुने बताए। विद्यार्थी जनमत संघ काठमाडौं, युथ एसोसिएसन अफ नेपाललगायतले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले 'दिलीपलाई न्याय दे, चुरे संरक्षण गर, तराईको भविष्य सुरक्षित गर, देशैभरीको पर्यावरण विनासकारीविरुद्ध आवाज बुलन्द गरौँ'लगायतका नारा लगाएका थिए।

यता, प्रहरीले टिपर चालक महोत्तरीको बर्दिबास नगरपालिका-९ का मुनिन्द्र महतोलाई घटनालगत्तै र क्रसर उद्योगका संचालक विपीन महतोलाई शनिबार बिहान जनकपुरधामबाट पक्राउ गरिसकेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.