खोमेनीको राजीनामा माग

|

सैन्य जनरल कासिम सुलेमानीलाई अमेरिकाले मारिदिएपछि त्यसको विरोधमा भएको आन्दोलन सर्वोच्च नेता आयोतोल्लाह अलि खोमेनीतर्फ सोझिएको छ। मिसाइल हानेर सेनाले आफ्नै नागरिक चढेको विमान खसालिदिएपछि अहिले इरानको सडकमा सरकारविरोधी आन्दोलन शुरु भएको छ। 

विमान आफूले नखसाएको दाबी गरेका इरानी अधिकारीहरुप्रति आन्दोलनकारी रुष्ट देखिएका छन्। यी अधिकारीहरुले यात्रुवाहक विमान सेनाले नखसाएको दाबी गरेका थिए। 

इरानमा सरकारविरोधी प्रर्दशन शुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आन्दोलनकारीहरु साहसी भएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'म राष्ट्रपति भएयता नै इरानका बहादुर जनताको पक्षमा छु, हामीले त्यहाँको प्रदर्शन हेरिरहेका छौं, आन्दोलन गर्नेहरु साहसका प्रतिक हुन्।'

गत बुधबार चालक दलका सदस्यसहित १७६ जना सवार बोइङ ७३७ सिरिजको विमानलाई इरानी सेनाले मिसाइल प्रहार गरी खसालिदिएको थियो। युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा इरानी सेनाले तेहरान नजिकै मिसाइल दाग्दा इरानकै ८२ नागरिकको ज्यान गएको थियो। 

इरानका प्रमुख दुई विश्वविद्यालय बाहिर अहिले इरानी सरकारका विरुद्ध विद्यार्थीहरुले आन्दोलन छेडेका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले अश्रुग्याँस प्रहार गरेका छन्। 

अघिल्लो साता सैन्य जनरल कासिम सुलेमानीलाई ड्रोन हमलामा हत्या गरिदिएपछि इरानमा अमेरिकाविरोधी प्रदर्शनहरु भएका थिए। त्यसको बदलामा इरानले इराकस्थित अमेरिकी सेनाका क्याम्पहरुमा मिसाइल प्रहार गरेको थियो। बुधबार मिसाइल प्रहार हुँदै गर्दा युक्रेनी जहाजलाई पनि इरानी सेनाले खसालिदिएको थियो। 

प्रदर्शनकारीहरुले यात्रुवाहक विमान खसाल्न संलग्न मानिसहरुमाथि कारबाही माग गरेका छन्। उनीहरुले इरानका सर्वोच्च नेता खोमेनीको राजीनामा र विमान खसाल्नेलाई मृत्युदण्ड दिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.