|
तस्विर : जाजरकोट-डोल्पा सडकखण्ड / रामचन्द्र न्यौपाने

डोल्पा : जाजरकोट-डोल्पा सडकखण्डमा पाँचवटा बेलीब्रिज निर्माण गरिने भएको छ। सडकखण्डअन्तर्गत पर्ने ठूलोभेरी नदीमा दुईवटा र अन्य साना खोलामा तीनवटा गरी पाँचवटा बेलीब्रिज निर्माण गर्न लागिएको हो।

पाँचैवटा बेलीब्रिज निर्माण ०७७ असोजभित्रै सक्ने गरी निर्माण सुरु गर्न लागिएको हो। पाँचवटा बेलीब्रिजमध्ये चारवटा त्रिपुरा सुन्दरी नगरपालिका क्षेत्रमा र एउटा ठूलीभेरी नगरपालिकामा निर्माण हुन लागेका हुन्।  गत मंसिरमा यी पुलको प्रारम्भिक सर्वे गरिएको थियो। पाँचवटै पुलको अन्तिम सर्वे सम्पन्न भइसकेकाले पुल निर्माण प्रक्रिया सुरु भइसकेको सडक विभागले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करोपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाड खोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलीब्रिज निर्माण गरिने छ।

सडक विभागका इन्जिनियर रोशन केजुवाल र बिएनबी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहको टोली बेलीब्रिजको अन्तिम नक्सांकन गरी फर्किएको छ। उक्त टोलीले जाजरकोटदेखि डोल्पाको रुपगाडसम्म निर्माण गर्नुपर्ने बेलीब्रिज अन्तिम डिजाइन सम्पन्न गरेर काठमाडौं फर्किएको हो।

बेलिब्रिज पुलको अन्तिम नक्सांकन गर्ने कार्य सम्पन्न भइसकेकाले काठमाडौंमा पुगेर सबै प्राविधिक कार्य एक महिनाभित्र सम्पन्न गर्ने बताइएको इन्जिनियर केजुवाले बताए। प्राविधिक कार्य सम्पन्न भएलगत्तै बिइनबी कन्सल्टेन्सीमार्फत सडक विभागले बेलीब्रिज निर्माण सुरु हुने उनले बताए। उनका अनुसार कम्पनीलाई पाँचवटा पुल बनाउन झण्डै पाँच महिना लाग्ने छ।

बेलीब्रिज निर्माण भएपछि रुकुम पश्चिमको छरेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म सीधा यातायात सेवा संचालन हुने छ।

बेलीब्रिज निर्माण हुने भएपछि डोल्पाली खुशी

डोल्पालीको भाग्यरेखासँग जोडिएको जाजरकोट-डोल्पा सडकखण्डको पाँच ठाउँमा एकै पटक बेलीब्रिज बन्ने खबरले डोल्पालीमा खुशी छाएको छ। जिल्ला सदरमुकाम दुनैबाट सीधै रुकुम पश्चिमको छरेबगरसम्म गाडी परिवर्तन नगरी यात्रा गर्न सकिने भएपछि डोल्पाली खुशी भएका हुन्।

यसअघि दुनैदेखि तल्नुबगरसम्म पुग्नमात्रै तीनवटा गाडी परिवर्तन गर्नपर्ने अवस्था बेलीब्रिज बनेपछि अन्त्य हुने विश्वास लिएको त्रिपुरासुन्दरी नगरपालिकाका युवा लोकश खत्रीले बताए। 'आजभोलि तल्नुबगर पुग्न तीनवटा गाडी परिवर्तन गर्नुपर्छ, भाडामा एकरुपता नहुँदा पैसा पनि धेरै खच हुन्छ घण्टौँ कुरेपछि मात्रै गाडी चढ्न पाइन्छ' खत्रीले भने 'बेलीब्रिज बनेपछि यस्तो समस्या हट्ने विश्वास छ।'

रुकुम पश्चिम र जाजरको सीमावर्ती क्षेत्रमा पर्ने तल्नुबगर, जाजरकोटको नलगाड नदीमा पनि तत्काल बेलीब्रिज निर्माण गर्न आवाश्यक रहेको यहाँका स्थानीयको भाग छ। यी दुई स्थानमा बेलीब्रिज निर्माण गरिए काठमाडौं र नेपालगञ्जबाटै सीधा डोल्पासम्मको यात्रा गर्न सकिने उनीहरू बताउँछन्। स्याउ, ओखरलगायतका स्थानीय उत्पादनले बजार पाउने र पर्यटकलाई आवागमन गर्न सहज हुने स्थानीय बताउँछन्।

करिब १ सय १८ किलोमिटर दूरीको जाजरकोट-डोल्पा सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले ०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो। निर्माण गरेको एक वर्षपछि ०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट-डोल्पा सडक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.