|

सिन्धुली : सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ। सिन्धुलीगढीमा आइतबार आयोजित एक विशेष समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शालिकको अनावरण गरेका हुन्।

कमलामाई नगरपालिकाले निर्माण गरेको पूर्णकदको शालिक ५ फिट ११ इन्च उचाइको छ। मूर्तिकार नवीन सुवेदीले शालिक निर्माण गरेका हुन्। शालिकको अनावरण गर्दै मन्त्री भट्टराईले ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण गरिएको शालिकले सिङ्गो नेपाली जनताको स्वाभिमानलाई विश्वसामु उभ्याएको बताए।

‘हाम्रो स्वाभिमान पृथ्वीनारायणसँगै यो सिन्धुलीगढीमा उभिएको छ। सिन्धुलीगढीमा उभिएको शाहको शालिकले नेपाली जनताको स्वाभिमानलाई उभ्याएको छ’ उनले भने। सिन्धुलीगढीको विकास र संरक्षणमा कमलामाई नगरपालिकाले चालेको कदमको प्रसंसा गर्दै उनले सिन्धुलीगढी दरवार, किल्ला, गढीहरूको पुनःनिर्माण गर्ने काममा सहयोग गर्ने बताए।

तत्कालीन समयमा सिन्धुलीगढीमा गोरखाली सेना र ब्रिटिस सेना बीच भएको युद्धको झल्को दिनेगरी कमलामाई नगरपालिकाले समाधिपार्क निर्माण गर्ने योजना बनाएको छ। निर्माण हुने समाधि पार्क नेपाली र ब्रिटिसको मित्रताको प्रतीकको रूपमा रहने उनले बताए।

‘मलाई विश्वास छ यो समाधिपार्क निर्माण भएपछि सिन्धुलीगढीमा गोरखाली सेनाले ब्रिटिस सेनालाई कसरी परास्त गरेछन् भनेर हजारौँ हजार बेलायती पर्यटक सिन्धुलीगढी आउने छन्। यसले सिन्धुलीगढीलाई राम्रो पर्यटकिय गतव्य बनाउने छ' उनले भने।

उनले सिन्धुली र सिन्धुलीगढीमा पर्यटन प्रवद्र्धनमा जिल्लाका सांसद, नगरप्रमुख लगायतले अघि सारेका प्रस्तावहरू पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। काठमाडौंसँग छाटो दूरीमा रहेको सिन्धुलीमा पर्यटन विकासमा सांस्कृतिक र प्राकृतिक सम्पदा निर्माणमा जोड दिनुपर्ने बताए।

उनले स्थानिय, प्रदेश र संघ सरकारले समन्वयात्मक ढंगले मुलकको चौतर्फी आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले मुलकको सार्वभौम सत्ता, अखण्डतालाई वर्तमान सरकारले रक्षा गर्ने बताउदै देशको सिमाना कसैलाई एक इन्च पनि मिच्न नदिने र अरूको पनि नमिच्ने बताए।

कार्यक्रममा पूर्वकृषि मन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले सिन्धुलीलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.