बारा : भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया-वीरगञ्ज सडकखण्ड अवरुद्ध भएको छ।
रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेको बुलेट जितपुर सिमरा उपमहानगरपालिका-२ सूर्य नेपालअगाडि आइपुग्दा ग्यास लिक भएको थाहा भएको हो। बुलेटबाट ग्यास लिक भएपछि पथलैया र जितपुरमा सबै सवारी साधन रोकेर लिक भएको ग्यास नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
‘ग्यास लिक भएपछि प्राविधिक बोलाएर ग्यास नियन्त्रणको प्रयास भइरहेको छ’, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले भने, ‘आसपासमा बस्तीसमेत भएकाले सतर्कता अपनाइएको छ।’
राजमार्गमा वीरगञ्जबाट विभिन्न शहरका लागि छुटेका रात्रिबस, मालबहाक सवारी साधन सयौंको संख्यामा सडकमा रोकिएका छन्। केही महिनाअघि पनि जीतपुरसिमराकै अम्लेखगञ्जमा बुलेटबाट ग्यास लिकेज भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।