|

धनकुटा : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)लाई घरभाडामा नदिन उर्दी जारी गरेको छ। 

सो पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजीओ) लाई दिएको घर खाली गराउन उर्दी जारी गरेको हो।

सो पार्टीका धनकुटा जिल्ला इन्चार्ज दर्शन किराँती र सचिव सुदर्शन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘एनजीओ र आइएनजीओले देशमा आर्थिक रुपमा शुन्य बनाउँदै लगेको छ, यस्ता संस्थाहरुलाई सामाजिक दलाल, पुँजीवादी सरकारले कारबाही गर्नुको साटो संरक्षण गर्दै खुलेआम जनतालाई लुट्न दिइरहेको छ, त्यसैले गर्दा राष्ट्रलाई आर्थिक संकटबाट बचाउन तपाइको पनि दायित्व हो, त्यस्ता दलाल पुँजीवादी संस्थाको कार्यालय हटाइदिनु हुन अनुरोध गर्दछौं’ भनिएको छ।

यस्ता खालका संस्थाहरुले देशैभरि जनताको इच्छा विपरित ढाँटछल गरि जनतालाई दुखी बनाइ आफ्नो स्वार्थ पुरा गरिरहेको हुँदा उक्त संस्थाहरुलाई बन्द गर्ने पार्टीको अभियान रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

सो पार्टीले यसअघि जिल्लामा सञ्चालन र कारोबार गरिरहेका वित्तीय तथा लघुवित्तीय संघ–संस्थाको कारोवार बन्द गर्न जेठ २४ गते धम्की दिएको थियो। प्रतिबन्धित पार्टीनिकट लिम्बूवान स्वायत्त जिल्ला जनपरिषद्ले जेठ २४ गते विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका संघ संस्थाका गतिविधि बन्द गर्न यस्तो धम्की दिएको थियो।

सरकार सामाजिक दलालीसँग मिलेर कमिशनमा जनताको रगतपसिनालाई भागबण्डा लगाउने, जनतालाई विस्थापित गराउने कार्यमा अघि बढेकाले जनताबाट त्यसको विरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि गत शुक्रबार धनकुटामा बसेको पुर्वका ६ जिल्लाका सुरक्षा प्रमुखहरुको बैठकले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्त रुपमा रणनीतिक योजना अघि सार्ने निर्णय गरेको थियो। निर्णय भएको दुइ दिन बित्न नपाउँदै सो पार्टीले विज्ञप्ती जारी गरेर एनजीओ र आइएनजीओलाई घर भाडा नदिनु भनेर उर्दी जारी गर्नुले सुरक्षा चुनौती बढेको देखाएको छ। 

सुरक्षा प्रमुखहरुको बैठकमा पुर्वका धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाका प्रमुख सहितले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्त रुपमा रणनीतिक योजना अघि सार्ने निर्णय गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.