|

सिन्धुली : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृषि र उद्योगको विकासबिना आर्थिक सवृद्धिको सपना साकार गर्न नसकिने बताएका छन्।

मंगलबारदेखि सिन्धुलीको मरिण गाउँपालिकामा सुरु भएको मरिण महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भट्टले भने, ‘हामीले सुखी नेपाली र सवृद्ध नेपालको सपना अगाडि बढाएका छौं। त्यसका लागि प्रमुख आधार भनेकै कृषिमा आधुनिकीकरण र कृषिमा आधारित उद्योगहरूको विकास हो।'

उनले सरकार कृषिमा आधारित उद्योगहरूको विकास गर्न लागिरहेको बताउँदै यस वर्ष मात्र देशभरका ७० स्थानमा उद्योग ग्रामको स्थापना हुने बताए।  देशभरका ७५३ वटै स्थानीय तहमा ग्राम उद्योगको स्थापना गरिने र देशका प्रमुख केन्द्रहरूमा ठूलाठूला उद्योगको स्थापना गरी आयात होइन निर्यातको अवस्था सिर्जना गर्ने लक्ष्यमा सरकार रहेको बताए।

मरिण गाउँपालिकामा उद्योगको स्थापना गर्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत मन्त्री भट्टले व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वकृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले मरिण क्षेत्रको विकास तीब्र गतिमा भइहरको बताउँदै उक्त विकासको उपयोग गरी जनतालाई सवृद्धितर्फ लैजानु पर्नेमा जोड दिए।

'मरिण क्षेत्रको बिकासले अब फड्को मारिसकेको छ, अब मरिणका जनताको अध्यारो दिन सकियो, उज्यालो दिन आएको छ' उनले भने।

नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, सवृद्ध मरिण हाम्रो पहिचान भन्ने मूल नाराका साथ कृषि, व्यापार र पर्यटन प्रवर्द्धनका लागि उद्योग वाणिज्य संघ मरिण उपशाखाको मूल आयोजना तथा मरिण गाउँपालिकाको सहयोगमा सुरु गरिएको महोत्सव पौष १८ गतेसम्म चल्ने जनाइएको छ।

महोत्सवमा स्थानीय कृषिजन्य सामग्री, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तुलगायतका स्टलहरू राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.