धादिङ : गजुरी गाउँपालिका–५ स्थित पिँडा खानेपानी आयोजना निर्माणमा स्थानीयवासी सक्रियतापूर्वक लागेका छन्। गाउँपालिका र अक्स्फाम नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रुपमा अघि बढाएको यो आयोजना सम्पन्न गर्न स्थानीयबासीले श्रमदान समेत गरिरहेका छन्।
श्रमदानसमेत गरी दुई करोड १४ लाख रुपैयाँमा यो आयोजना अघि बढाइएको हो। आयोजना सम्पन्न भएपछि गाउँपालिकाका वडा नं ५ र ६ का १ सय ५७ घरधुरीसहित एउटा विद्यालय र दुईवटा सामूदायिक भवनमा समेत खानेपानी सुविधा पुग्नेछ। कुल १ सय ६० वटा धारा जडान गरि खानेपानी वितरण गरिने जनाइएको छ।
आयोजना निर्माणका क्रममा गजुरी गाउँपालिका ५ र ६ का १ सय ५७ घरधुरीका ९ सय २४ जनाले प्रत्यक्ष सेवा पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीले बताए। उनका अनुसार करिब सात किलोमिटर माथिबाट गाउँको माथिल्लो भागमा ल्याई संकलन ट्याङ्की निर्माण गरिने र २४ सै घण्टा पानी आउनेगरी घर–घरमा धारा जडान गरिनेछ।
यो क्षेत्रका बासिन्दाले बर्षौंदेखि खानेपानीको समस्या ब्यहोर्दै आएका छन्। आयोजना सम्पन्न गर्न अहिले १५७ घरधुरीबाट स्थानीयले दैनिक श्रमदान गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।