मधेसी हुन वा पहाडी, सामाजिक सद्भाव खल्बल्याउने वा राज्यको विरूद्धमा आवाज उठाउने जो कोही पनि राजद्रोही वा देशद्रोहीको रूपमा कहलिन्छन्। हिजोआज सञ्चार माध्यममा एकाध व्यक्तिले मधेसमा गएर छुट्टै देशको माग गरे भनेर विधुतीय छापामा आइरहेका छन्। मधेसलाई छुट्टयाएर अलग्गै राष्ट्र बनाउँछु भन्दै उफ्रेर, चिच्याएर माइकमा भाषण दिदै हिडेका छन्। तिनीहरुको बोलीमा कुनै तुक छैन मैले यो लेख्दै गर्दा खरानी धसेर हिडेका नव आगन्तुक पाखण्डी बाबाहरूलाई सम्झिरहेको छु। वास्तवमा भन्नुपर्दा पाखण्डी बाबा र त्यो प्रवृतिमा मैले केही फरक पाएको छैन। यी दुवै बाबा र सिके राउतलाई एकै तराजुमा राखेर तौल गर्ने भन्ने बराबर आउँछ। यो अवस्था चाहिँ मधेसको हकमा अवश्य मिल्न जानेछ। जसरी एक पाखण्डी बाबाले सोझो जनतालाई ठग्छन् त्यसैगरी अहिले मधेसमा भ्रम छर्ने प्रयास गरिरहेका छन्। तिनीहरुका हरेक अभिव्यक्तिमा ठोस तर्क भेटिएको छैन र जनभावना अनुसार उनीहरुको कुनै तर्कहरू सिद्ध छैनन्।
नागरिकताबारे
मधेसमा उठाउने गरिएको एक महत्त्वपूर्ण सवाल हो नागरिकता। मधेसमा अवस्थित मधेसी नागरिकलाई नागरिकता मुख्य समस्या रहेको छ भनेर हौवा फिजाइएको छ। नागरिकता लिन अत्यन्तै अप्ठ्यारो छ र लिए पनि सहज ढंगले लिएको अवस्था छैन। यदि लिइहाले पनि पछि खोस्न सकिन्छ भनेर अपुष्टयाईको कुराहरू भइरहेका छन्। आजसम्मको कुनै नागरिकको वैधानिक तवरले लिएको नागरिकता जफत गरेको आधार फेला परेको अवस्था छैन। मेरो आाफ्नै अनुभव हो। मेरो र बहिनीको नागरिकता बनाए २०६७ सालमा। मलाई कुनै बाधा अवरोध आएन। मात्रै दुई घण्टामा नागरिकता बन्यो। यो कुराले के प्रष्ट हुन्छ भने वैधानिक तरिकाले नागरिकता लिँदाको सहज छ। आजसम्म वैधानिक तरिकाले नेपालको नागरिक बन्छु भन्दा कसैले रोकेको छ भनेर यी दुईवटा ठाडो कानले सुन्नुपरेको छैन।
नेपालीले मात्र हैन यहाँ विदेशीले पनि नागरिकता पाउन कठिन छैन| हरेक वर्ष हजारौं मानिसहरुले अंगीकृत नागरिकता लिन्छन्| नयाँ संविधानले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई-मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगीकृत सभासद् रहेको तथ्य हामीसामु छ। यी सबै सभासद् संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन्।
जानकारीको लागि
फिजी भन्ने देशमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो। १९८७ देखि १९९० सम्म फिजी संविधानविहीनताको अवस्थामा थियो। यो संवैधानिक शुन्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरुलाई नागरिकता दिनुपर्ने भनी दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो। साथै सोही ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरिकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरिकता पाउने प्रावधान समेत राखियो। सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको संख्या सन् १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यही नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्र चौधरी प्रधानमन्त्रीमा विजयी भए। संसदमा ७१ सिटमध्ये ३७ सिट भारतीय नागरिकहरुको हातमा गयो।
म यस्तो नेपालमा नहोस् चाहन्छु, तपाईंहरु के चाहनुहुन्छ? बाहिर देशको आएर मधेसको मुख्यमन्त्री वा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष बन्यो भने म र तपाईंहरु जस्ता मधेसलगायत पूरै देशको लाखौंलाख युवाको बेइजजत हुनेछ| मधेस र देश दुबैको नेतृत्व मधेस, थारु र जनजातिको सक्षम छोरोलाई गर्न पाउनुपर्छ। विदेशबाट आएकालाई गर्न दिनु हुन्न| त्यही भएर बिहारबाट छिरेका, जाल-झेल गरेर अंगीकृत नागरिकता हात पारेका मानिसहरुको पछि नलागौं|
मधेसमा सैनिक र प्रहरी
अर्को आक्षेप छ मधेसका गल्ली र सहरको चोकचोकमा फिरंगी प्रहरी छन्। नेपालको प्रशासनिक निकायमा मधेस मुलको प्रतिनिधित्व अवश्य कमै छ। प्रहरी र सेनामा मधेस मुलका नागरिकहरूको संख्या गन्य रूपमा नै छ। यसमा कुनै दुई मत छैन। अहिलेको नयाँ संविधानको प्रावधान अनुसार महिला, आादिवासी, जनजाति, मधेस तथा पिछडा वर्गका समुदायका नागरिकलाई समानुपातिक रूपमा कोटा निर्धारण गरिसकेको अवस्था छ। कालान्तरमा नेपालको प्रशासनिक अंगदेखि प्रहरी र सेनाको समूहमा मधेस नागरिकको बाहुल्य रहनेमा ढुक्क हुन सकिन्छ। मधेसमा बेमौसमी बाजा बजाइरहनुको अर्थ छैन।
मधेसमा दुख, कष्ट र अविकास
मधेसको दुख अथाह छ भनेर अहिले गलत प्रचार गरिँदैछ। हामी मधेस पीडित र कष्टकर जीवन बाच्न बाध्य पार्यो भनेर भनिरहेका छन्। यसो भन्दा मलाई लाग्छ पुरै नेपाल उनीहरुले देखेका छैनन्। कि देखेर पनि नदेखे जस्तो गरेका हुन्। दुख मधेसमा भन्दा पहाडमा बढी छ। मधेसमा पाँच मिनेटमा स्कुल भेटिन्छन् तर पहाडी भेगमा घन्टौ हिड्दा बल्लबल्ल एउटा स्कुल भेटिन्छ। पहाडी भेगको कयौं नागरिकले चामल देख्न पाउँदैनन्। कुपोषणको शिकार भइरहेका छन्। तर यो अवस्था मधेसमा अहिलेसम्म सिर्जना भएको छैन र हुनेछैन। मधेसमा रिक्सा कुदाएर र मेहनत गरेर खाने ठाउँ र मजदुरी गर्ने प्रशस्तै उद्योग कलकारखाना छन् तर पहाडमा यावत कुराहरू छैनन्।
मधेस मात्रै होइन आज सारा देशको सबै भागमा विकासका ढोका खुल्न सकेको छैन। यी सबै कारणहरू नेतृत्व पंतिको अक्षताको उपज हो। कालो बादलमा पनि चाँदीको घेरा देख्न सकिन्छ भनेजस्तै यी सबै समस्याको समाधान विस्तारै गर्न सकिन्छ। आज सारा देशबासीले विकास चाहेका छन् न कि विध्वंस न अलग देश नै| चाहेका छन् त मात्र समृद्ध, सबल र सक्षम राष्ट्र|
मधेसहरु आदिम कालदेखिका नेपाली हुन्| भारतबाट पाकिस्तान, पाकिस्तानबाट बंगलादेश छुट्न सक्छ भने नेपालबाट मधेस किन छुटन सक्दैन भन्नेहरु मधेसी होइनन्, देशद्रोही हुन्| सच्चा मधेसीहरु त ती हुन जस्ले विभिन्न तराईका बोर्डेर एरियामा भारतीय सैनिकहरु लोभ-लालच देखाउँदा र धम्की दिँदा पनि कहिले हामी इंडियन हौ भन्न मानेनन्| सच्चा मधेसीहरु ती हुन् जस्ले दिनरात खेतमा पसिना बगाएर देशको अन्नदाता भएर उभिएका छन्| मधेसमा लाखौं लाख देशभक्त युवा छन् जस्ले राष्ट्रको लागि आफ्नो ज्यान दिन तयार छन्। तर कसैको अगाडि झुक्न तयार छैनन्| २-४ जनाका यस्ता अभिव्यक्ति दिनेहरुको कारण मधेसीहरुको राष्ट्रियता माथि शंका नगरौं। म पनि मधेसको हुँ, मधेसी हुँ। म जस्ता लाखौं मधेस छन् जसले नेपाल बाहिर मधेस होइन, देशभित्रै मधेस खोजेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।