मन्त्रालयकै साथ, कसले गर्ने कारबाही?

|

अश्विन दानी

गोरखा : गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्न त्रिशूली नदीमाथिको पुलको निर्माण गर्ने जिम्मा लिएर ठेकेदारले अलपत्र बनाएका छन्।

दुई वर्षभित्रै पुल निर्माणको काम सम्पन्न गर्ने भन्दै कुल १७ करोड रुपैयाँ लागतमा पप्पु कन्ट्रक्सनले २०७३ असारमा सम्झौता गर्‍यो। ‘पप्पु’ ले गरेको सम्झौताअनुसार उक्त पुल २०७५ असारसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो।

तोकिएको समयावधिमा पुलको निर्माण काम गर्न कहिलेकाही झुल्किने ‘पप्पु’ का कर्मचारीहरु निर्माणस्थल वरपर वर्ष दिनदेखि नदेखिएको स्थानीयहरु बताउँछन्। पुल निर्माणको काम वर्ष दिनदेखि ठप्प छ। पछिल्लोपटक थपिएको समयावधिअनुसार निर्माण कम्पनीले २०७७ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

पछिल्लोपटक थपिएको म्याद सकिन अब साढे पाँच महिना मात्रै बाँकी हुँदा हालसम्म ठेकेदारले १६ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउँछन्। तर, ठेकेदारले अहिलेसम्म पुल निर्माणको काम अघि बढाएका छैनन्।

होला त कारबाही?

निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम नसके कारबाही गर्ने आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेशकुमार यादव बताउँछन्। तर, दुई वर्षभित्रै काम सिध्याउँछु भन्दै जिम्मा लिएर चारवर्षसम्म अलपत्र छाड्ने ठेकेदारलाई पटकपटक म्याद थप्ने काम यही आयोजनाले गरेको हो।

पप्पुलाई मन्त्रालयकै साथ

समयमै काम नगर्ने, कार्यालयको सम्पर्कमा नआउने ठेकेदारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले नै साथ दिएको छ। मन्त्रालयले  ठेकेदारको मागअनुसार त्रिशूली नदीमा उत्पादन गर्न लागिएको जलविद्युत आयोजनालाई बेलिब्रिज बनाउन लगाएर सहज गरिदिने निर्णय गरेको हो।

‘अब त्यहाँ बेलिब्रिज बन्ने पक्का भएको छ’ आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेश यादवले भने ‘निर्माण सामग्री लैजान समस्या भएको भन्दै आएका ठेकेदारले त्यसपछि काम गर्न सक्छु भनेका छन्।’

जलविद्युत् आयोजना प्रभावित

पप्पु कन्ट्रक्सनले समयमै पुल निर्माणको काम सम्पन्न नगर्दा एक सय मेघावाटको जलविद्युत आयोजना प्रभावित बनेको छ। पप्पुले पुल निर्माणको काम अलपत्र छाडेपछि हाइड्रो पावर निर्माणका लागि आवश्‍यक सामग्री ढुवानी गर्न असहज प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले बताए।

 निर्माण सामग्री ढुवानी गर्न असहज भएपछि अहिले जलविद्युत आयोजनाले पप्पुले पुल बनाउनुपर्ने भन्दा करिब ३० मिटर माथि बेलिब्रिज बनाउन लागेको छ। रेग्मीका अनुसार त्यहाँ एक सय मिटर लामो बेलिब्रिज बन्ने छ। पप्पु कन्ट्रक्सनले समयमै पुल निर्माण गरिदिएको भए आयोजनाले त्यहाँ बेलिब्रिज बनाउनुपर्ने थिएन।

पप्पुलाई एक वर्ष प्रतिबन्ध

पप्पु कन्ट्रक्सनलाई सरकारले एक वर्षसम्म नयाँ कामको जिम्मा लिन नमिल्ने गरी प्रतिबन्ध लगाएको छ। आयोजना कार्यालयले थपेको म्याद नसकिएसम्म नयाँ कामको जिम्मा लिन नमिल्ने गरी प्रतिबन्ध लगाएको हो।

 प्रतिबन्धित समयावधिमा भन्दा अघि जिम्मा लिएको काम गर्न पाए पनि उक्त कन्ट्रसनले नयाँ ठेक्का लिन नपाउने भएका छन्। 

निर्माणस्थलमा छैनन् कामदार, कसरी सकिन्छ काम?

दुई वर्षमा काम सक्छु भन्दै पुल निर्माणको जिम्मा लिएको पप्पु कन्ट्रक्सनले अहिलेसम्म दुवैतर्फ पिल्लर मात्रै उठाएको छ। तर, निर्माणस्थलमा कामदार भेटिदैनन्।

‘हामीले काम गरेको ठाउँमा मान्छे देख्दैनौँ’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘पुल बन्दै गरेको ठाउँमा खोज्दा न जिम्मेवार व्‍यक्ति भेटिन्छन् न कर्मचारी। अनि कसरी, कहिले सकिन्छ काम?’ गण्डकी गाउँपालिकाको भुम्लिचोक, मकैसिंङलगायत ठाउँ भएर आउजाउ गर्नेहरुलाई सास्ती भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.