-मोहन सङ्ग्राम
मन्दिरको कुनै भित्तामा
भगवानको विज्ञापन देखेपछि
अलि पहिला
भगवानको नाममा
फूलमान दाइले चढाए आफ्नो टाउको ।
अहिले
घाँटीसम्मको शरीर लिएर
भौंतारिइरहेका छन् फूलमान दाइ
आफ्नो टाउकोको हिसाब खोज्न,
भगवान् नभएको देख्न
उनीसँग आँखा छैनन्
भगवान् छैनन् भनेर,सुन्न
उनीसँग कान छैनन्
सुँघ्न, उनीसँग नाक छैन
के भगवान् छन् ? भनेर,सोच्न
उनीसँग दिमाग छैन
सोध्न, उनीसँग मुख छैन
झुक्किएर
पटक-पटक पुगेका छन्
फूलमान दाइ मन्दिरसम्म
ठोक्किएका छन् आफ्नो टाउकोसँग
ओठ भइदिएको भए मुस्कुराउँथे
या त भिजाउँथे
परेली भइदिएको भए
उनका लागि
अँध्यारा छन्
घाम जुन र ताराहरू
यदि उज्यालो केही छ भने
भगवानका आँखाहरू छन्
जो उसले देखेकै छैन
गीत गाउँदैनन्
कुनै चराहरूले या समयले
यदि कसैले गाउँछ भने
भगवानको जिब्रोले गाउँछ
जुन उसले सुनेकै छैन
कुनै दिन
भेट्नुभयो भने बाटोमा
मुर्कुट्टाजस्तै कोही
त्यो हुन सक्छ फूलमान दाइको शरीर
या हुन सक्छ
उसैगरी टाउको चढाएका
अब्दुल
ऋतिक
फुर्वा
या अर्को कोही
हुनसक्छ
तपाईंको अगाडि राखिएको ठूलो ऐना
या यही कविता सुनाउँदै गरेको कुनै कवि
जसले मागिरहेका हुन सक्छन्
कहीँ चढाउनका लागि कसैको टाउको
र सुनाइरहेका हुनसक्छन्
टाउको नहुनुको मज्जा
जसरी
बिमा कम्पनीको कुनै एजेन्टले सुनाउँछ
मर्नुको फाइदा
अचेल
बनाउन चाहन्छन् फूलमान दाइ
एउटा ठूलो साम्राज्य
टाउको नभएकाहरूको
टाउको चढाएकाहरूको
जसले पेटबाट कुरा गरून्
पेटका लागि कुरा गरून्
जसले पेटबाट सोचून्
पेटका लागि सोचून्
पेटभित्रै राखेका छन्
विभिन्न धार्मिक ग्रन्थ
पेटबाटै उच्चारण गर्छन्
भगवानका स्त्रोत्र
दिइरहन्छन् समय-समयमा
टाउको बेचेर पेट किन्ने सुवर्ण अवशर
अलि समय पर्खिनुहोस्
यस्तो एकदिन आउने छ एकपटक
सबै टाउकाहरू चढाइएका हुनेछन्
सबै पेटहरू हिँडिरहेका हुनेछन्
न पेट बिना टाउकाहरू रहनेछन्
न टाउको बिना पेटहरू ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।