गोरखा : गोरखा दरबार पुनर्निर्माण अलपत्र पारेर ‘गायब’ भएका ठेकेदारले अबको पाँच महिनाभित्र दरबार पुनर्निर्माणको काम सक्ने प्रतिबद्धता गरेका छन्। पुरातत्व विभागले माग गरेको १५ दिने स्पष्टिकरणको अन्तिम दिन (बिहिबार) ठेकेदारले विभागसँग अबको पाँचमहिनाभित्र दरबारको पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको हो।
‘गत माघ नौगते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ठेकेदार स्वयं उपस्थित भई लिखित स्पष्टीकरण दिन माग गरेका थियौँ’, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने, ‘ठेकेदारहरु आज हाम्रो सम्पर्कमा आएर स्पष्टिकरण दिँदै पाँच महिनाभित्रै काम सक्छु भनेका छन्।’
‘तोकिएको म्यादभित्र काम सम्पन्न गर्ने अवस्थासमेत नदेखिएकाले सार्वजनिक ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार खरिद सम्झौता अन्त गर्नु नपर्नाको उचित कारण भए १५ दिनभित्र स्वयं उपस्थित भई लिखित स्पष्टिकरण दिनुहोला, अन्यथा नियमानुसार करार सम्झौता तोडेर कारबाही अगाडि बढाइने छ,’ विभागद्वारा जारी सूचनामा लेखिएको थियो।
बिगतमा जस्तै बिभिन्न बहाना बनाएर तोकिएको समयमा काम सम्पन्न नगरे कारबाही गर्ने गौतमले जानकारी दिए। ‘बिगतमा ठेकेदारले विभिन्न बहाना बनाउँदै समयमा काम गरेका छैनन्’, उनले भने, ‘तर, अब कुनै बहानाबाजी चल्दैन। जुनसुकै हालतमा पाँच महिनाभित्रै काम सक्नुपर्छ। नत्र कारबाही हुन्छ।'
मङ्सीर महिनाभित्र सम्पन्न गर्ने गरी गोरखा दरबार पुनर्निर्माणको ठेक्का लिएको पचली भैरव शिवाको जेभीका ठेकेदार ‘गायब’ भएका थिए। तोकिएको म्याद सकिएको डेढमहिना बितिसक्दा करिब ३५ प्रतिशत मात्रै काम सकेर बेपत्ता भएका ठेकेदार पाँच महिनाभित्रै काम सम्पन्न गर्छु भन्दै बिभागको सम्पर्कमा गएका छन्।
सम्पन्न गर्नुपर्ने भनिएको मंसीरभित्र जम्मा ३५ प्रतिशत मात्र काम गरेपछि पुरातत्व विभागले गत पुस चार गते ठेकेदारलाई आउँदो जेठ मसान्तसम्मका लागि म्याद थप गरेको थियो। थपिएको म्याद सकिन अब छ महिना मात्रै बाँकी छ। तर, हालसम्म ठेकेदारले पुननिर्माणको काम अघि बढाएका छैनन्।
ठेकेदारले गोरखा दरबार पुनर्निर्माण गर्न चार करोड २५ लाखमा ठेक्का लिएको थियो। तर कहिल्यै निर्माण क्षेत्रमा नटेकेका कर्मचारीहरु बताउँछन्। बिभिन्न बहाना बनाउँदै ठेकेदार कार्यक्षेत्रमा नआउने र कामदारलाई पनि निर्माणस्थलमा नपठाउने कर्मचारीहरुको गुनासो छ। काम नगर्ने ठेकेदारलाई कारवाहीको सट्टा म्यादथप गरी पुरस्कृत गरिएको कर्मचारीहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।