|

काठमाडौं : कोरोना भाइरस सयभन्दा बढी मुलुकमा फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनले महामारीका रूपमा घोषणा पनि गरिसकेको छ। कोभिड-१९ को प्रभाव चीनदेखि सुरु भएको थियो। नेपालमा पनि एकजना कोरोना भाइरसबाट संक्रमित भेटिएका थिए। तर, उनको उपचारपछि पुरानो अवस्थामा फर्किइसकेका छन्।

नेपालमा कोरोना भाइरसको हल्ला सँगसँगै खाद्य सामग्री अभाव हुन थालिसकेको छ। नेपालीको भान्छाघरमा पनि प्रभाव पर्न थालिसकेको छ। खाना पकाउने ग्‍यास अभाव हुन थालिसकेको छ। बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव र महँगी देखिन थालिसकेको छ।

बागबजारको आकाशे पुलमा खाना पकाउने सिलिण्डर बोकेर हिँडदै गरेका हिरालाल नेवार भेटिए। उनी असन बस्छन् सधैं पाउने ठाउँमा नपाएकोले बागबजारमा पाइने आशाले सकिएको सिलिण्डर बोकेर गएको उनी बताउँछन्।

यता, नेपाल आयल निगमले काठमाडौंमा खाना पकाउने एलपी ग्यासको अभाव नभई अस्वाभाविक माग बढ्दा केही समस्या देखिएको बताएको छ।

निगमका अनुसार कोरोना भाइरसको जोखिमका कारण नाकाबन्दी हुने डरले उपभोक्ताले सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्दा अभाव देखिएको हो। ‘आयातमा केही समस्या छैन, पहिलेभन्दा झन् बढी ग्यास आइरहेको छ, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने, 'स्टक होल्डिङ र वितरणमा केही समस्या देखिएको हो, हामीले निरन्तर अनुगमन गरिरहेका छौं।’ 

एलपी ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिक टन रहेकामा बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति व्यवस्था मिलाइसकिएको पनि निगमले जनाएको छ। 

निगमले ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक संचित नगर्न पनि उपभोक्तालाई अपिल गरेको छ। ग्यास बिक्रेता संघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बढीमा पाँच देखि ७ दिन भित्र ग्यासको वितरणमा देखिएको समस्या समाधान हुने बताए।

‘नाकाबन्दीमा जस्तो चरम अभाव भोग्‍नु नपरोस् भनेर उपभोक्ताले सबै सिलिण्डर एकैपटक भर्न खोज्दा समस्या आएको हो’, थापाले थाहा संचार नेटवर्कसँग भने, ‘आउनै रोकिएको भए समस्या झन् बढ्थ्यो तर आयात अझै बढाएकाले बढीमा एक हप्ताभित्र सबै सिलिण्डर भरिन्छन्।’

होलीको बिदामा समेत निगमले ग्यास आयात गर्ने व्यवस्था मिलाएको भन्दै थापाले आफूहरुले पनि बजारमा पठाइरहेकोे बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.