काठमाडौं : कोरोना भाइरसका कारण सुडानका लागि जान लागेको ७ सय नेपाली सेनाको शान्ति मिसन स्थगित भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडान जान लागेका करिब सात सय नेपाली सेनाको मिसन स्थगित भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि सुडानमा खटिने शान्ति मिसन स्थगित गर्न भनेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
शान्ति मिसनअन्तर्गत नेपाली सेनाको ७ सय जनाको टोली गत फागुन २४ गते सुडान जानुपर्ने थियो। हाललाई स्थगित सुडान जाने शान्ति मिसनको टोली अब कहिले जाने भन्ने कुनै टुंगो नलागेको प्रवक्ता पाण्डेले बताए।
कोराना भाइरसका कारण भारत, चीन, दक्षिण कोरिया, नेपाल, कम्बोडियाको शान्ति मिसन तत्कालका लागि स्थगित गरिएको पत्र आएको प्रवक्ता पाण्डेले बताए। अहिले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त देशमा खटिएको छ।
यसअघि २०७३ मा पनि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका ३२ जना नेपाली शान्ति सैनिकलाई सुडानबाट फर्काइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।