स्वास्थ्य

कोरोनाबाट जोगिन प्रदेश पाँचको तयारी : उपकरण नै छैन

तापक्रम नाप्‍ने थर्मल गन नहुँदा 'हेल्थ-डेस्क' समेत चलाउन सकिएन

बुटवलको धागो कारखानामा बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले तयार गर्दै गरेको आइसोलेशन कक्ष।
चैत ९, २०७६

    रूपन्देही : रूपन्देहीको दक्षिणी नाका हो–रोहीणी गाउँपालिका स्थित भगवानपुर। भारतमा कोरोना संक्रमण देखिएसँगै स्थलमार्ग भएर आउने यात्रुहरूको स्वास्थ्य जाँच गर्न भगवानपुरमा एउटा 'हेल्थ-डेस्क' राखिएको छ।

    दैनिक ३ हजार जना मानिस ओहोरदोहोर गर्ने नाकामा राखिएको 'हेल्थ-डेस्क'मा विश्व स्वास्थ्य संगठनले भनेजस्तो व्यक्तिगत सुरक्षण उपकरण (पीपीई) को त परै जावस्, तापक्रम नाप्‍ने ‘थर्मल गन’ समेत छैन। 'हेल्थ-डेस्क'को काम हात धुन र सचेत रहन सिकाउनेमा नै सीमित हुँदा स्वास्थ्य परीक्षण बिना नै निर्वाध रूपमा आवतजावत भइरहेको छ। उता यही प्रदेशसँग जोडिएको दक्षिणी छिमेकी भारतको उत्तरप्रदेशमा हालसम्म २४ जनालाई कोरोना संक्रमित भेटिइसकेका छन्‌।

    भारतसँगै जोडिएको रूपन्देहीकै मर्चवारी गाउँपालिकाका नाकामा त झन् 'हेल्थ-डेस्क' नै राखिएको छैन। चहलपहल हुने खयराघाट, जोगियावाजी घाट, चन्नीघाट, जुर्मुहानघाटलगायतका नाकामा 'हेल्थ-डेस्क' नहुँदा दैनिक करिब २ हजार मानिसहरू निर्वाधरूपमा आवतजावत गरिरहेका छन्। गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँ स्वास्थ्य परीक्षणमा खट्ने स्वास्थ्यकर्मीको सरक्षा र यात्रुहरूको तापक्रम नाप्ने उपकरण नहुँदा 'हेल्थ-डेस्क' नै स्थापना हुन नसकेको बताउँछन्। 

    मर्चवारी बाहेक रूपन्देहीका सम्मरीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिका सबै भारतसँग जोडिएका स्थानीय तहहरू हुन्। तर, यी स्थानीय सरकारहरूले सिमानाकामा कुनै पनि 'हेल्थ-डेस्क' राख्न सकेका छैनन्। कोरोनाको सम्भावित संक्रमणलाई रोक्न सिमानाकामा स्वास्थ्य जाँच हुनु पर्ने भएपनि यी स्थानीय सरकारहरू भने सचेतना र हात धुने जानकारीका लागि 'माइकिङ'मा मात्रै भर परेका छन्। यतिसम्म कि दक्षिण देहातका गाउँहरूमा स्थानीय सरकारले मास्क तथा स्यानिटाइजर अथवा साबुनसम्म पनि वितरण गरेका छैनन्। 

    रोहिणी गाउँपालिकाले केही मास्क वितरण गरेपनि अन्य गाउँपालिकाले भने त्यतिसम्म पनि गर्न सकेका छैनन्। मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँ गाउँपालिकाले कोरोना संक्रमणका लागि सचेतनाका मात्रै कार्यक्रमहरू गरेको बताउँछन्। ‘माईकिङ र पम्पलेटहरू बाँड्ने कामहरू गरिरहेका छौं,’ उनी भन्छन्। 

    यसो त सचेतनाका कार्यक्रमको प्रभावकारितामा पनि प्रश्व उठेको छ। मर्चवारीका स्थानीय अगुवा पत्रकार राजकुमार धवल सीमामा रहेको त्यहाँका स्थानीयहरूले कोरोना संक्रमणको जोखिम खटाउने कुनै पनि उपायहरू अवलम्बन नगरेको बताउँछन्। ‘बिना कुनै स्वास्थ्य परीक्षण यहाँका स्थानीयहरू सीमा वारपार गरिरहेका छन्, भीडभाड तथा हाटबजारहरू बन्द गरिएका छैनन्, न त गाउँपालिकाहरूले कोरोनाको वास्तविक जोखिमका बारेमा स्थानीयहरूलाई बताएका छन्।’ उनी भन्छन्। 

    कपिलवस्तुमा पनि बाक्लो आवतजावत हुने ३ वटा नाकाहरू छन्। कृष्णनगर, मर्यादपुर र चाकरचौडामा राखिएका 'हेल्थ-डेस्क' स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण र थर्मन गन नहुँदा निकम्मा बनेका छन्। नवलपरासीका महेशपुरबाहेकका अन्य साना नाकामा 'हेल्थ-डेस्क'मा ज्वरो नाप्ने 'थर्मल गन' नै छैन। 

    उपकरण त परै जावस् सिमानामा रहेका उनिहरूसँग प्रदेश र संघ सरकारले समन्वय नै नगरेको स्थानीय सरकारहरूको गुनासो छ। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव कोरोना प्रतिरक्षा तैयारीका लागि गाउँपालिका एक्लैले नसक्ने बताउँछन्। उनी हालसम्म यसबारेमा प्रदेश सरकारसँग कुनै पनि छलफल तथा अन्तरर्किया नभएको बताउँछन्। 

    ‘पीपीइ तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक अन्य ईक्विपमेण्ट समेत हामीलाई दिइएको छैन। भएको विपद् व्यवस्थापन कोषबाट ३ हजार थान मेडिकल मास्क भने वितरण गरेका छौं। हामीले कोरोना संक्रमण फैलिन नदिन गरेको यति नै हो।’ उनी भन्छन्,‘जोखिम न्यूनीकरण गर्न अन्य दुई सरकारको सहयोग कुरिरहेका छौं।’ 

    प्रदेश मै पनि छैनन् उपकरण 

    सीमामा रहेका स्थानीय सरकारमात्र होईनन्, सिंगो प्रदेश ५ सरकार आवश्यक उपकरण बिना नै कोरोना प्रतिरक्षाको तयारीमा जुटेको छ। केही हप्ताभित्रै ३ सय ७० बेडसहति विभिन्न 'आइसोलेशन कक्ष' तथा अस्पतालहरू सञ्चालनमा ल्याउने तयारीमा रहेको प्रदेश सरकारसँग जम्मा २५ वटा मात्रै व्यक्तिगत सुरक्षण उपकरण अर्थात् पीपीइ छन्। मन्त्रालयका अनुसार प्रदेश सरकारले तयार गरेको अलग कक्ष (आइसोलेशन बेड)हरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ५०० वटा पीपीईको आवश्यक पर्छ। 

    शनिबारसम्म प्रदेश सरकारले १९ वटा निजी र सरकारी अस्पताल गरेर ११० वटा आइसोलेशन बेडहरू तयारी अवस्थामा राखेको छ। ती बाहेक रूपन्देहीको भीम अस्पतालमा ५ आइसियुसहितको ३० बेड, दाङको बेलझुण्डीको आयुर्वेदिक अस्पतालमा १०० बेड, बाँकेको शुशील कोईराला क्यान्सर अस्पतालमा ३० बेडको तयारी थालेको छ। भीम अस्पतालमा आइसोलेशन बेडहरू तयार पारिँदैछ।

    बेलझुण्डीको आयुर्वेदिक अस्पतालमा शनिबारदेखि र बाँकेको क्यान्सर अस्पतालमा आज (आइतबार)देखि आइसोलेशन बेड निर्माण शुरू भएको छ। त्यस्तै बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवलकै धागो कारखानामा १०० बेडको कोरोना (विषेश) अस्थाई अस्पताल निर्माण गरिएको छ। यी अस्पतालहरूमा कोरोनाका आशंका गरिएका र पुष्टि भईसकेका व्यक्तिहरूलाई राखेर उपचार गरिन्छ।  


    कपिलवस्तुको तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयमा बनाईएको क्वारेन्टाइनमा बिना कुनै सुरक्षा कोरोना संदिग्ध व्यक्तिलाई जाँच गर्दै स्वास्थ्यकर्मी। 

    स्वास्थ्य निर्देशनालय रूपन्देहीका प्रवक्ता रोशनलाल चौधरीका अनुसार तैयार रहेका आइसोलेशन कक्षमा एक सिफ्टमा कम्तीमा दुई–दुई जनाको दरले मेडिकल अफिसर, स्टाफ नर्स, वार्ड ऐटेन्डेन्ट र सरसफाई गर्ने कर्मचारी रहनेछन्। त्यस्तै, आइसीयूमा प्रतिकक्ष एक सिफ्टमा एक कन्सल्टेन्ट चिकित्सक, दुईजना मेडिकल अफिसर, दुई जना स्टाफ नर्स, एक जना वार्ड एटेन्डेन्ट र सरसफाई गर्ने कर्मचारी एकजना रहने छन्। यसरी हेर्दा हालसम्म तयार रहेका आइसोलेशन कक्षमा एक हजारभन्दा धरै स्वास्थ्यकर्मी तथा प्राविधिक टोली खटिनुपर्ने देखिन्छ। 

    तर, सरकारसँग रहेका २५ वटा पीपीईमा भर पर्दा चिकित्सकहरूको सुरक्षामा नै चुनौती देखिने निश्चित छ। सरकारसँग रहेका पीपीईमा २५ वटा 'ईन्फ्रारेड थर्मो गन '(ज्वरो नाप्ने उपकरण), १ हजार पञ्जा, ४० वटा एन–९५ मास्क र दुईवटा मात्रै 'भाईरस ट्रान्सपोर्ट मिडियम' अर्थात भाईरसलाई ल्यावसम्म पुर्‍याउने माध्यम रहेको छ।  
    हाललाई उपकरणहरूको कमी देखिएको भएपनि उपकरणको जोहोमा सरकार जुटिरहेको स्वास्थ्य निर्देशनालयको तर्क छ। प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले आवश्यक उपकरणहरूको जोहो गरिरहेको बताउँदैं कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश सरकारको योजना सक्षम रहेको स्वास्थ्य निर्देशनालय बताउँछ।

    ‘हामीसँग उपकरणहरू निकै कम छन्, तर अहिले कोरोना संक्रमित पनि देखिएका पनि छैनन्। संक्रमित भेटिनुभन्दा अगावै उपकरणहरूको व्यवस्थापन भइसकेको हुनेछ,’ उनी भन्छन्।

जीवराज चालिसे

चालिसे थाहा खबरका रुपन्देही समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]