अर्थ

कालोबजारी रोक्न 'डेलीभरी भ्यान'बाट टोलटोलमा खाद्यान्‍न

कालोबजारी भएको पाएमा टोल फ्री नम्बर ११४९ मा फोन गर्नू

चैत १३, २०७६

    काठमाडौं : लकडाउनको समयमा कालोबजारी रोक्न 'डेलीभरी भ्यान' बाट टोल टोलमा खाद्यान्न पुर्‍याउने भएको छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि 'डेलीभरी भ्यान'बाट टोलटोलमा खाद्यान्न पुर्‍याउन स्टोरहरुलाई निर्देशन दिने निर्णय गरेको हो। 

    मन्त्रालयले कालोबजारी भएको पाइएमा गृहमन्त्रालयको टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न पनि अपिल गरेको छ। बैठकको निर्णयानुसार काठमाडौं उपत्यकामा अत्यावश्यक खाद्य वस्तु अभाव हुन नदिन स्टोर र विक्रेताहरुलाई परिचालन गरिने भएको हो।

    'काठमाडौं उपत्यकामा खाद्यान्न अभाव हुन नदिन सबै स्टोर र विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने', निर्णयमा भनिएको छ, 'आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।'

    त्यसका लागि पसल संचालन, माग संकलन र वितरण कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मिलाउने गरी जिम्मेवारी दिइएको छ।

    उपभोक्ताको माग संकलन र वितरण कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर र विक्रेताहरुले आ-आफ्नो टोल फ्री नमब्र वा अन्य नम्बर उपलब्ध गराई प्रचार गर्नपर्ने भएको छ। गृहले फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तुहरुको ठूलो प्याकसमेत विक्री गर्न निर्देशन दिएको छ। 

    काठमाडौं उपत्यका बाहिरका अत्यावश्यक वस्तुका स्टोर र विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापन सहज बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने गरी गृहले निर्णय लिएको छ।

    'यस जटिल घडीमा कुनै समस्या परेमा समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुनेछ', गृहसचिव न्यौपानेले भने, 'अवैधरुपमा सामान जम्मा गर्ने जस्ता गतिविधि गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा २४ सै घण्टा उठ्ने टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न सक्नुहुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]