|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँ पालिकाले ३४ लाख रुपैयाँको कोरोना विरुद्धको आकस्मिक कोष स्थापना गरेको छ। यसको साथै सबै वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ।

बिहीकार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले ३४ लाख रुपैयाँको कोषको स्थापना गरेको हो। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत चार लाख गरी ३४ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरिएको हो।

गाउँपालिकाले महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसँगै हरेक वडामा पाँच बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ। आठवटै वडामा क्वारेनटाइन बनाउन आवश्यक सामग्री खरिद गरि तीनवटा टोलीमार्फत सामान पुर्याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए।

बेगमा स्थानीय महिला सहकारीको भवन, भगवतीमा स्वास्थ्य चौकी भवन, पिप्लेमा पुरानो स्वास्थ्य चौकी भवन, दग्नाममा जनता माविको भवन, झिँमा सामुदायिक होमस्टे, पाखापानीमा ट्रेनिङ सेन्टर र सेवा केन्द्रको भवन, चिमखोलामा स्वास्थ्य चौकी भवन र कुईनेमंगलेमा रितुङ माविको नवनिर्मित भवनमा क्वारेनटाइन बनाइने भएको छ।

लकडाउनको समयमा विपन्न र असहाय नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी समेत गरेको छ। गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन जनचेतनामुलक अभियानसँगै हरेक वडामा पछिल्लो दुई सातायता विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गर्ने कार्यक्रमलाई समेत अघि बढाएको छ।

हरेक स्वास्थ्य संस्थामा विरामीको चेकजाँच गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि १७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) समेत खरिद गरिसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कोरोनाको संक्रमण रोक्न जिल्ला स्तरीय विपद व्यवस्थापन कोषमा २ लाख ५० हजार सहयोग गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.