उच्च ज्वरो आएपछि लगिएको थियो अस्पताल

|
फाइल तस्बिर

काठमाडौं : उच्च ज्वरो आएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ। आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

वीर अस्पताल श्रोतका अनुसार दुवैजनालाई उच्च ज्वरो आएको थियो। कोरोना संक्रमण भएका बिरामीलाई पनि उच्च ज्वरो आउनुका साथै श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ। ती दुवैमा कोरोना आशंकमा परीक्षणका लागि  थ्रोट स्वाब लिइएको थियो। 

मृत्यु भएका दुवैजनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। मृत्यु भएकी चन्द्रागिरी नगरपालिका-१५ निवासी एक महिलालाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले लक्षणका आधारमा ३४ वर्षीया उनमा कोरोना आशंका गरेका थिए। 

यसै  साता भारतबाट नेपाल आएकी उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो। अत्यधिक ज्वरो आएको भन्दै ल्याइएकी युवतीलाई बिहानपख निमोनियाको लक्षण देखिएको थियो। उनलाई उच्च ज्वरो आएर स्वास फेर्न पनि गाह्रो भएपछि अस्पताल ल्याएको परिवारले जनाएका छन्। 

यस्तै सोमबार बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि ज्यान गएको छ। लगभग बेहोस अवस्थामा ल्याइएका उनी भर्खरै भारतबाट आएको खुलेको छ। उनमा पनि ज्वरो अत्यधिक आएको थियो। 

दुवै बिरामीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको अस्पतालले जनाएको छ। उनीहरुको स्वास्थ्य रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्छ।

यसअघि पाटन अस्पतालको आईसीयुमा उपचाररत धादिङ घर भएका एक ३६ वर्षीय भारतीय गोर्खा सैनिकको पनि मृत्यु भएको थियो। उनमा पनि उच्च ज्वरो आएको थियो। उनको शरीरका भित्री अंगले एकैसाथ काम गर्न छाडेर ज्यान गएको पाटन अस्पताल श्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.