हालसम्म १ हजार २ सय ७७ परीक्षण
हालसम्म १ हजार २ सय ७७ परीक्षण
काठमाडौंः सरकारले कोरोना भाइरसको नमूना परीक्षणको दायरा बढाउँदै गएको छ।
यसअघि प्रदेश प्रदेश १ को धरान र गण्डकी पोखरामा सुरु भइसकेको कोरोना परीक्षण अब हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले आज धरानमा ३९, पोखरामा १९, सुर्खेतमा ७, जनकपुर र हेटौँडामा ५–५ र धनगढीमा ४ वटा नमूना परीक्षण भएको बताए। बुटवलमा भने मेसीन जडान भइरहेको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता देवकोटाले आज देशभर १ सय २० जना आइसोलेसनमा रहेको बताए। तीमध्ये १५ जना काठमाडौं उपत्यकाका हुन्।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हालसम्म १ हजार २ सय ७७ परीक्षण भएको छ। अब प्रदेशमा पनि परीक्षण सुरु भएपछि प्रतिदिन एक सयभन्दा वढी नमूना परीक्षण भइरहेका छन्।
नेपालमा एक जना निको भएकोबाहेक हालसम्म संक्रमितको संख्या ५ रहेको छ। तीमध्ये टेकुमा २ बाग्लुङमा २ र धनगढीमा एक जना विरामी रहेको र संक्रमित सबैको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।
यतिबेला पछिल्लो छैटौं सक्रमितको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ। आजै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सबै ९६ जनाको नमूना संकलन गरिएको छ।
यस्तै मोबाइल एप र साइटमा ५ हजार ६ सय २६ जनाले आफ्ना लक्षण इन्ट्रि गरेकोमा १०७ जना रेड जोनमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।