एक गाउँबाट अर्कोमा जान पनि रोक

|

डडेल्धुरा : सुदूरपश्‍चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्‍चिमका विभिन्न नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। कोरोना भाइरसका बिरामी बढेसँगै डडेल्धुराका सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन्। परशुराम नगरपालिकाको तातोपानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएका छन् । 

सशस्त्र प्रहरी नायब निरीक्षक दलबहादुर कुँवरको नेतृत्वमा ३० जनाको टोली खटाइएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए। उनका अनुसार ससाना नाका र चोरबाटो हुँदै भारतमा रहेका नेपालीहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै तीनवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको हो।

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै परशुराम नगरपालिका ५ को बाङघाट र परशुराम नगरपालिका ६ को सिसमजालाघाट गत चैत ४ गतेदेखि पूर्णरूपमा बन्द गरिएको थियो। तर, पनि महाकाली पौडी खेलेर दिनहुँ नेपालीहरू नेपाल प्रवेश गरिरहेका बेला उनीहरूलाई जोखिम मोलेर प्रवेश गर्न नदिन ससाना नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

कैलाली र कञ्‍चनपुरका आन्तरिक सीमामा कडाइ

सरकारले अतिआवश्यक कामबाहेक एक जिल्लाबाट अर्का जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेपछि कैलाली र कञ्‍चनपुरका आन्तरिक सीमामा पनि कडाइ गरिएको छ। शनिबार दुवै जिल्लाका थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएसँगै लकडाउनमा पनि कडाइ गरिएको हो।

स्थानीय प्रशासनले आन्तरिक सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै दुवै जिल्लामा बिहानैदेखि कडाइ गरेको छ। अतिआवश्यक काम बाहेकका कसैलाई जिल्लाबाट बाहिरिने र भित्रिन नदिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सुदूरपश्‍चिमको प्रवेशद्वार चिसापानी, पूर्वपश्‍चिम राजमार्गअन्तर्गत कञ्‍चनपुरसँग जोडिएको गोदावरी नगरपालिकाको चौकीडाँडा, डोटीसँग जोडिएको फल्टुडे, बर्दियासँग सीमा जोडिएको राजापुरमा विशेष सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए। यस्तै जिल्लाका सबै स्थानीय तहका सीमा क्षेत्रमा समेत निगरानी बढाइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले पनि कैलाली र डडेल्धुरासँग जोडिएका सबै सीमानाकामा विशेष सुरक्षा टोली परिचालन गरिएको जनाएको छ। पूर्वपश्‍चिम राजमार्गअन्तरगत जिल्लाको गजरौला, डडेल्धुराको जोगबुडा जोड्ने दैजी, कैलालीसँगको डोके बजारलगायत आन्तरिक नाकामा विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र पौडेलले दिए।

एक गाउँबाट अर्कोमा जान पूर्ण रूपमा रोक

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान  पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। गन्यापधुरा गाउँपालिकाको शनिबार सम्पन्न आकस्मिक बैठकले गाउँपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गर्ने निर्णय गरेको गाँउपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकाले कोरोनाको संक्रमणबाट बच्न र बचाउनका लागि गाँउपालिका भित्रका एक गाँउबाट अर्को गाउँमा जान रोक लगाएको हो। शनिबार सुदुरश्चिममा एकैसाथ तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएपछि गाँउपालिकाले सजकता अपनाएको अध्यक्ष मल्लले जानकारी दिए।

कैलालीका कोरोना संक्रमति युवक चैत ११ गते गौरीफन्टा नाकाबाट नेपाल भित्रिएको बुझिएसँगै सतर्कता अपनाइएको अध्यक्ष मल्लले बताए। सोही दिन डडेल्धुराकोे गन्यापधुरा गाँउपालिकामा ३० जना युवा भित्रिएका र अहिले सबै घर घरमै बसिरहेकाले सबैलाई सुरक्षित रूपमा बस्न गन्यापधुरा गाउँपालिकाले आग्रह गरेको छ। 

सोही दिन गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका विभिन्न जिल्लाका ९ सय ९९ जनामध्ये अधिकांश अहिले घरमा रहेका र केही व्यक्ति मात्रै क्वारेन्टाइनमा बसेकाले उच्च सतर्कता अपनाउन थालिएको हो।  

शनिबार कैलालीमा एक महिला र एक पुरुष गरी दुई जना र कञ्‍चनपुरमा एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो। तीमध्ये दुईजना भारतबाट आएका व्यक्ति हुन् भने एक जना सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजू हुन्। 

नेपालमै पहिलो एकजनामा स्थानीय संक्रमण देखिएपछि यहाँका सबै क्षेत्रमा उच्च सर्तकता अपनाइएको हो। यसले कोरोनाको संक्रमण बढ्ने भन्दै यहाँका हरेक स्थानीय तह र स्थानीय प्रशासन उच्च सतर्क रहेको जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.