कोभिड-१९ {अपडेट}

भारतको कर्नाटकदेखि बागलुङको बरेङसम्म : कोरोना कहरबीच युवाहरू यसरी फर्किए स्वदेश

चैत २४, २०७६

    बागलुङ : नेपाल-भारत सीमा बन्द हुँदा कैलालीको गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९९८ जना नेपालीको भीडमा कञ्चपुरका तिनै ४१ वर्षीय पुरुष थिए, जसमा शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। तिनै संक्रमित पुरुषसँग सँगै यात्रा गरी बागलुङका आठ युवाहरू पनि नेपाल भित्रिएका थिए। जिल्लाका युवाहरू कोरोना संक्रमितसँगै फर्किएको जानकारी पाएपछि उनीहरूको खोजीकार्य शुरू भइसकेको थियो। 

    नेपाल भित्रिएका बागलुङका आठ जनामध्ये बुटवल-पाल्पाहुँदै बरेङ आएका चार जनालाई बरेङ गाउँपालिकाको सर्वाेदय मावि र बाँकी चार जनालाई रुपन्देहीको बाँसगडीमा निर्मित क्वारेन्टाइनमा राखिएको छ। नेपाल प्रवेश गरेपछि बरेङका चार जना पाल्पाको क्वारेन्टाइनमा रहेको जानकारी पाएपछि गाउँपालिकाले उद्दार गरेर आफ्नै पालिकामा ल्याएको हो। बाँसगडी र बरेङमा रहेका आठै जनाको स्वास्थ्य सामान्य रहेको अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन्‌।

    बरेङको क्वारेन्टाइनमा रहेका युवाहरूले निकै कष्ट सहेर आफ्नै गाउँ आइपुगेको बताएका छन्। उनीहरूमध्ये दुईजना दाजुभाई हुन भने अर्का दुई बाबुछोरा। क्वारेन्टाइनमा बसेका ती चार जनामध्येका एक युवाले विश्वमा कोरोना फैलिएसँगै भारतको कर्नाटकदेखि जन्मभूमि बरेङसम्मको यात्रा भोगाई थाहाकर्मी तारानाथ आचार्यसँग बेलिविस्तार लगाएका छन्। 

    अनि शुरू भयो कष्टका दिन 

    गुजारा चलाउन मुस्किल भएपछि भारत पसेको केही महिनामात्रै भएको थियो। एकाएक कोरोना भाइरस विश्वभरी फैलिएको खबर आयो, भारतमा पनि यसको संक्रमण पुष्टि भएपछि काम बन्द भयो। दक्षिण भारतको एक प्रान्त कर्नाटकमा क्याटरिङको काम गर्थें। हजारौं मान्छे आउने र खाने ठाउँ। त्यस्ता ठाउँहरूमा संक्रमणको जोखिम बढी हुने भएकाले साहुले काम बन्द गरिदिए। कामै बन्द भएपछि घर फर्किनुको विकल्पै थिएन, अनि बाटो लाग्यौं। यो १९ मार्चको कुरा हो। झोला बोकेर बस चढेको चार दिनपछि गौरीफन्टा बोर्डरमा आईयो। बोर्डर त सजिलै कटियो, तर धनगढीमा आएपछि हाम्रा कष्टका दिन शुरू भए,  जुन सम्झदा आङै सिरिङ्ग हुन्छ।

    नाकामा भारतबाट आउने नेपालीहरूको स्वास्थ्य चेकजाँचको लागि हेल्थडेक्स स्थापना गरिएको छ। त्यही हेल्ड डेक्समा बुझ्दा ‘सरहरू आउँदै हुनुहुन्छ, हजुरहरूको चेकजाँच भएपछि मात्रै जान पाइन्छ’ भन्‍ने जवाफ पाइयो। हामीले राम्रोकै लागि हो भनी कुरेर बस्यौं। कुर्दाकुर्दै एक दिन त बितिगयो। शुरूमा त हामी थोरै थियौं, बिस्तारै बसहरूले मान्छे झार्दै गए। भारतबाट आउनेहरूको संख्या बढ्दै गयो। 

    भोक मेट्न चाउचाउ र पानी

    दोस्रो दिनसम्म पनि हामीलाई जाँच गर्ने भनेका डाक्टरहरू आउनुभएन। समय बित्दै जाने र भारतबाट फर्किनेहरूको संख्या थपिएको थपियै हुन थाल्यो। प्रहरीले दिएको चाउचाउ र पानीको भरमा थियौं हामी। न खानु न सुत्नु! दुई दिन बित्नै लागेपछि हामीले नाराबाजी गर्‍यौं। धेरै थियौँ, कसरी धानोस् प्रहरीले। हामीले नाराबाजी शुरू गरेपछि ३५ वटा बसमा सबैलाई आ-आफ्नो जिल्लामा पुर्‍याउने भन्ने खबर आयो। बस आयो, तर जाँच गर्ने भनिएका कोही आएनन्। केही समयपछि आएका चिकित्सकहरूले हाम्रो जाँच गरे। त्यसपछि चैत १० गते राती १० बजे धनगढीबाट बस चढेर हिँड्यो। सबै जम्मा भएको ठाउँमा को-को र कहाँका थिए भन्ने जानकारी नै भएन। 

    सात दिन पाल्पाको क्वारेन्टाइनमा

    ११ गते साँझ बुटवल आइयो। बुटवल आएपछि बस कता जाने भन्ने अन्यौल शुरू भयो। पाल्पासम्म बस आउने भएकाले राती पाल्पा पुग्यौं। पाल्पा झरिसक्दा लकडाउन शुरु भइसकेको थियो। त्यहाँको प्रशासनले हामी सबैलाई क्वारेन्टाइनमा लग्यो। जनप्रिय हो कि के नाम गरेको विद्यालयमा हामीलाई राख्यो। त्यहाँको सातदिने बसाई निकै कष्टपूर्ण रहे। हामी पाल्पा रहेको कुरा बरेङ गाउँपालिकाले थाहा पाएछ। हामीले पनि परिवारमार्फत जानकारी गराएका थियौं। गाउँपालिकाले पाल्पाबाट बरेङ ल्याएर यहाँको क्वारेन्टाइनमा राखेको छ। 

    क्वारेन्टाइनको बसाई : घरकै अनुभूति

    अहिले सर्वोदय माविको क्वारेन्टाइनमा बसेका छौं। चार जना उतै बुटवल बसे। हामी चार जना यता छौं। मेरो त बिहे भएको छैन्, घरमा बाआमा र बहिनीहरू छन्। भाई मसँगै क्वारेन्टाइनमा छ। हामीसँगै गाउँका अंकल र उहाँको छोरा पनि यहीँ छ। यहाँ आएपछि चिकित्सकहरू बेला-बेलामा आउनुहुन्छ, सोध्नुहुन्छ, खानापानी प्रसस्तै, सुत्ने ठाउँ पनि राम्रो छ।

    जे दुःख काट्नु थियो पाल्पामै काटियो, न खानाको ठेगान थियो न सोधखोज नै। देशभित्रै गरिएको यस्तो बेवास्ताले आफ्नै देश बिरानो भएजस्तो महसुस हुन्थ्यो। बरेङमा त घरै बसेको जस्तो भएको छ। घरबाट तरकारी, खानेकुराहरू पठाइदिन्छन्। राम्रै लागेको छ। हामी यहाँ बसे’नि पिर छैन। सबै हो नि जोगिनु पर्ने, सुरक्षित त हामी पनि बन्नु छ र अरुलाई पनि बचाउनु छ।

    हामीसँगै नेपाल पसेको साथीलाई संक्रमण देखियो भन्ने सुनियो। उ कहाँको हामी कहाँको, सम्पर्कमा रहने कुरा त भएन। तर एक अर्कामा छुँदा-छुँदै हामीसँगै कोरोना आइपुग्यो कि भनेर सचेत बनेर बसेका छौं।

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]