जिल्ला प्रशासन कार्यालय भन्छ : स्थानीय तहले हामीले भनेको टेरेनन्

|

गुल्मी : गुल्मीका स्थानीय तह यतिबेला धमाधम राहत बाँड्नमै व्यस्त छन्। जिल्लामा राहत लिनको भीड नै लाग्ने गरेको छ। तर राहतको नाममा हुने भीडमा भने कसैको ध्यान गएको देखिँदैन। राहत वितरणका क्रममा सामान्य स्वास्थ्य सचेतना पनि अपनाइएको भने पाइँदैन। राहत वितरणका क्रममा दूरी नै कायम गरिएको पाइन्छ। 

जिल्लाभरि भारतलगायत अन्य मुलुकबाट एक हजार ७ सय २४ जना भित्रिएका तथ्यांकमा छ। ती सबैको स्वास्थ्य जाँचसमेत भएको छैन। बरु स्थानीय तहका जनप्रतिनिधि राहतको नाममा सस्तो लोकप्रियता कमाउनेतिर लागेका देखिन्छन्। केहीले त भने राहत बाँडेर सामाजिक सञ्जालतिर फोटो राख्न पनि भ्याइसके। 
राहत वितरणमा भीडभाडसँगै र फोटो खिचाउनको लर्को त्यस्तै छ। 

ती भीडमा विदेशबाट आएका मानिसको छोइछितो भएको छैन भन्न सकिन्न। उनीहरु चाडपर्वमा घर फर्किएजस्तै खुलेआम बाहिर हिँडिरहेका छन्। आफन्त छिमेकीहरुलाई भेटिरहेका छ। जिल्लाका कतिपय स्थानीय तह स्वास्थ्य सचेतनाका लागि केन्द्र सरकारको मुख ताकेर बसेका छन्। कतिपयले भने ‘रेडियोमा सूचना प्रसारण गरेका छौं’ भनी पन्छिएका छन्।

सरकारले कार्यक्रम ल्याउँदै छ  ः चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन महिला स्वयंमसेविकालाई सरकारले नै कार्यक्रम ल्याउने भनेपछि सोही अनुसारको जानकारी गराइएको जनाएको छ।  

गाउँका भन्दा पनि बाहिरबाट आएकासँग स्थानीय धेरै भएकाले गाउँमा भीडभाड नगर्न प्रहरी परिचालन गरेको र अब स्वयंसेवक पनि परिचालन गर्ने सोचमा रहेको भण्डारीले बताए। 

गाउँमा नयाँ मान्छे आए सूचना दिन्छन् : मदाने गाउँपालिका 

मदाने गाउँपालिकाले टोलटोलमा स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा समिति बनाएर सवास्थ्यसम्बन्धी सचेतना फैलाएको जनाएको छ। साथै सचेतनाका कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। उनले भने, ‘गाउँमा कोही नयाँ मान्छे आए जानकारी गराउन भनेका छौं।’ यता जिल्लाको इस्मा गाउँपालिकाले पनि सचेतनाका लागि रेडियोबाट सूचना प्रसारण गरिएको जनाएको छ। 

कटुवालको प्रयोग गरेका छौ : मालिका गाउँपालिका 

मालिका गाउँपालिका गुल्मीले सस्थ्यसम्बन्धी सचेतना फैलाउन ‘कटुवाल’को प्रयोग गरेको जनाएको छ। गाउँमा कटुवालहरुले घरबाहिर ननिस्कन, भीडभाड नर्गन स्वास्थ्यसम्बन्धी जानकारी गराएको गाउँपालिकाले बताएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १० जनाको नियमित स्वास्थ्य जाँच भइरहेको बताए।

निर्देशन नै टेर्दैनन् स्थानीय तह

जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका स्थानीय तहलाई राहत वितरणमा भिडभाड नगर्न र स्वास्थ्यसम्बन्धी कार्यक्रममा कन्द्रित हुन निर्देशन दिए पनि त्यसलाई पालना नगरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ। स्थानीय स्तरमा पनि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन, भिडभाड कम गर्न , लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र राहत वितरणमा पनि दूरी कायम गर्न पटक पटक फोन र सूचनामार्फत जानकारी गराउने गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.