इटहरी : अफिलो चरणमा कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ छुट्याएको प्रदेश १ सरकारले १५ करोड रुपैयाँ थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेकाले थप १५ करोड रुपैयाँ थप्ने निर्णय गरेको हो।
बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसँग सिफारिस गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ। आजै अधिवेशन अन्त्य गर्नेबारे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसँग सहमति लिन प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।
मन्त्रीपरिषद बैठकले क्यान्सरपीडित पत्रकार कमल पौडेललाई उपचारका लागि तीन लाख रुपैयाँ आर्थिक सहायता गर्ने र सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। साथै, प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि गरिएको छ।
कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरण सम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रबर्द्धन समिति नेतृत्वविहिन भएकाले संचालनका लागि आवश्यक काम गर्ने निर्णय भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।