|

हेटौंडा : बागमती प्रदेश सरकारले लकडाउनको समयमा कृषिलाई प्रोत्साहन हुने गरी व्यवस्थापन गर्ने भएको छ। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस प्रकारको निर्णय गरेको हो। 

समितिका अध्यक्ष एवं बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले भौतिक दूरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने जनाएको छ।

यसैगरी बिदेशबाट आएका तथा प्रभावित व्यक्तिहरुको खोजी गरी र्‍यापिड डायोग्नोस्टिक टेस्ट र आवश्यक परे पिसिआर टेस्ट पनि गर्ने निर्णय भएको छ। अझै केही स्थानमा राहत वितरणमा एकद्वार नीति अवलम्बन गरेको नपाइएकाले संघीय सरकारको निर्देशनअनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। 

यसैगरी प्रदेशमा अलपत्र परेका व्यक्तिहरुको उचित व्यवस्थापनका लागि आवश्यकताअनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमान्ड पोस्टमार्फत व्यवस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालकले अटेर गरे संस्था र चालकलाई कारबाही गर्ने निर्णय पनि बैठकमा भएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए। 

यसैगरी स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव भएकाले संघीय सरकारसँग माग गरिने बताइएको छ। लकडाउनको समयमा विभिन्न अवाञ्छित क्रियाकलाप गर्नेलाई कारवाही गर्ने र त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्री ढुंगेलले बताए।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकोले यसको समन्वय स्थानीय तहले गर्ने बताए। पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाद रुपमा खेतीपाती गर्न किसानहरुलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताए। 

खेतीपातीको मौसम सुरु भएकाले मुख्यमन्त्री पौडेलले भने ‘कतिपय व्यक्ति वर्षभरि सहर पसेर काम गर्ने, तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी सहर पस्ने भएकाले उनीहरु अहिले अलपत्र भएका छन्, उनीहरुको व्यवस्थापन हुनु आवश्यक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.