|

प्रधानमन्त्रीको हैसियतले केपी ओली चर्चामा रहनु स्वाभाविक हो। देशको प्रमुख कार्यकारी व्यक्तिप्रति आलोचक र प्रशंसक दुवैथरीले आँखा लगाइरहनु, आफु आफ्नो विचार अनुकूल भए प्रशंसा गर्नु र प्रतिकूल भए आलोचना गर्नु वा गाली गर्नु राजनीतिक व्यक्तिका लागि स्वाभाविक कुरा हुन्।

त्यसमाथि जुन पृष्ठभूमिबाट अहिलेको राजनीतिको शिखरमा केपी  ओली आसीन  भएका छन् र उनको राजनीतिक चरित्र र स्वभाव जस्तो छ त्यसले गर्दा प्रधानमन्त्री केपी  ओली  अलिक बढी नै विवाद र चर्चामा आइरहेको कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ।

केपी  ओलीबारे आलोचना गर्नेले धेरै विषयका साना मसिना कुरादेखि ठूलठुला राजनीतिक  सिद्धान्तका कुरा पनि  सार्वजनिक गरिरहेका छन्। उनको घर परिवार, केटाकेटी अवस्थाको जानकारीदेखि लिएर उनले राजनीति कसरी सिके, उनले राजनीतिमा लागेर कस्तो दु:ख पाए, त्यसबेला कसकसले उनलाई मद्धत गरे, उनको आर्थिक हैसियत पहिले के थियो र अहिले केछ भन्ने लगायतका जानकारी समाजले पाइरहेको छ। 

सरकार दुई वर्ष टिकेको छ भन्नुको तात्पर्य राजनीतिक स्थायित्वतिर देश गइरहेको छ भन्ने हुनुपर्छ। दुई वर्ष टिक्नु पनि उपलब्धि रे भनेर कतिपयले व्यंग्‍य पनि गरेका थिए।

यो हुनु स्वयं नै केपी  ओली  देशको एक शिखर पुरुष रहेको प्रमाण हो। अरूले चर्चा गर्नु र चर्चित हुनु ठूलो र प्रतिष्ठित व्यक्तिकै लक्षण हो। भन्छन् नि, कि पुल बनाउनेको नाम चल्छ कि भत्काउनेको। 

दुई वर्ष टिकेको कुरा

अरू कुरामा भन्दा पनि यहाँ चर्चा गर्न खोजिएको विषय हो केपी  ओलीको सफलता र असफलताको विषय। त्यसमा पनि उनको वर्तमान प्रधानमन्त्रीत्व कालको सफलता र असफलताको कुरा। त्यसो त पाँच वर्षका लागि प्रधानमन्त्री बनेका केपी  ओलीको कार्यकाल भर्खर दुई वर्ष मात्र सकिएको छ, यसैले सफलता र असफलताको पूर्ण मूल्यांकन गर्ने बेला भइसकेको पनि छैन। 

स्वयं प्रधानमन्त्री के पी  ओलीले  आफू प्रधानमन्त्री भए पछिका दुई वर्षमा आफूले पाएको सफलतालाई संसदमा गरेको सम्बोधनमा लगभग ३१-३२ बुँदामा समेटेका छन् जसमा उनले शुरुमै भनेका छन् उनको नेतृत्वको सरकार दुई वर्ष टिकेको छ। उनले यसो भन्नुले पनि दुई वर्षलाई एउटा सार्थकताभित्र खोजिएको हो।

यो दुई वर्ष टिकेको छ भन्नुको तात्पर्य राजनीतिक स्थायित्वतिर देश गइरहेको छ भन्ने हुनुपर्छ। दुई वर्ष टिक्नु पनि उपलब्धि रे भनेर कतिपयले व्यंग्‍य पनि गरेका थिए। तर, नेपालमा सातसाल यताका कुरा गर्ने हो भने कुनै प्रधानमन्त्रीले पाँच वर्षसम्म निरन्तर सरकारको नेतृत्व गरेको इतिहास छैन।

सात सालमा कांग्रेस बलियो भएर होइन राणा शासन कमजोर भएर प्रजातन्त्र आएको थियो। ०१७ सालमा कांग्रेस कमजोर भएकै हुनाले राजा महेन्द्रले मौका पाएका थिए भने तत्कालीन निर्दलीय पञ्चायत व्यवस्था भताभुंग भएर टिक्नै नसक्ने भएपछि मात्र बहुदलीय व्यवस्था पुनस्थापित हुन सकेको बिर्सन हुँदैन।

सूर्यबहादुर थापाले जनमत संग्रह जिताइदिएबापत पाँच वर्ष निरन्तर प्रधानमन्त्री बन्न अवसर पाएका थिए। तर, उनको पनि समयावधि नसकिँदै अविश्वासबाट फालिएको थियो।

यद्यपि त्यसबेला राजतन्त्र थियो  र राजा पाँच वर्षभन्दा बढी नै शासनमा रहन्थे तर जनताको तर्फबाट कुनै नेताले ढुक्कसँग पाँच बर्ष काम गरेर देखाउन पाएको इतिहास छैन।

त्यसैले राजनीतिक स्थायित्व नेपालको राजनीतिमा एउटा ठूलो आवश्यकताको सवाल हो र नै दुई वर्ष टिकेको भन्नुमा विशेष अर्थ होला भन्ने अनुमान लगाउन सकिन्छ।

केपी  ओली सरकारका अझै तीन वर्ष बाँकी छन् तर अझै पनि राजनीतिक सन्तुलन कायम गर्न सकेनन् र स्थिति बिग्रिँदै गयो भने उनको पार्टी नेकपाको बहुमत उनले गुमाउनसक्ने सम्‍भावना नरहेको भने होइन। त्यसैले राजनीतिक स्थायित्व पनि देशका लागि महत्व विषय हो हो भनेर हेर्नुपर्ने देखिएको छ।

यसलाई अरूले भन्दा अहिले अस्वस्थ्य भएका ओलीले भन्दा पनि उनलाई सर्वमान्य भनाउन खोज्ने भक्तजनले बुझ्नु राम्रो हुनेछ।

असफलताबीच सफलता

प्रधानमन्त्री ओलीको सफलता जेजति होस् तर सो सफलता हालसम्मका असफलताहरूको सापेक्षतामा मात्र  मापन गनुपर्ने हुन्छ। उदाहरणका लागि  धेरै विगतका कुरा नगरे पनि यसअघि निर्वाचन गराउने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको  असफलता नै केपी नेतृत्वको सत्तारूढ नेकपाको सफलताको रहस्य हो भन्ने कुरा भुल्न हुँदैन किनभने नेपालको राजनीतिक परम्परा नै केही यस्तो छ।

सात सालमा कांग्रेस बलियो भएर होइन राणा शासन कमजोर भएर प्रजातन्त्र आएको थियो। ०१७ सालमा कांग्रेस कमजोर भएकै हुनाले राजा महेन्द्रले मौका पाएका थिए भने तत्कालीन निर्दलीय पञ्चायत व्यवस्था भताभुंग भएर टिक्नै नसक्ने भएपछि मात्र बहुदलीय व्यवस्था पुनस्थापित हुन सकेको बिर्सन हुँदैन।

संसदीय व्यवस्थाका विरोधाभास र कमजोरीबाटै माओवादी प्रबल भएका थिए भने त्यसमाथि राजतन्त्रका भालुभुत्ते नायकहरूको कमजोरीले लोकतन्त्र पनि  सफल हुन सकेको हो भन्ने त स्वयं राजाको नेतृत्वमा काम गरेका कमाण्डरहरूले नै स्वीकार गरेको देखिन्छ। सत्तारूढ पार्टीभित्रकै कुरा गर्ने हो भने पनि प्रधानमन्त्री केपी ओलीको सफलता तत्कालीन महासचिव माधवकुमार नेपालको अत्यधिक परम्परावादी पार्टी व्युरोक्रेसीमा निर्भर रहने नीतिको असफलताको द्योतक थियो।

माओवादी केन्द्रसँगको एकीकरण पनि स्वयं तत्कालीन  माओवादीका  नेता प्रचण्डको अत्यधिक अवसरवादी नीतिबाट भएका असफलताको परिणाम मात्र हो। अहिले झलनाथ र वामदेवजस्ता उपग्रहलाई माधव—प्रचण्डले गोटीका रूपमा प्रयोग गरेको हुनसक्छ। तर, परेकाबेला यस्ता चाल केपीले पनि चल्न गर्न सकेकै हुन् र अब पनि गर्न सके भने मात्र राजनीतिक शक्ति सन्तुलन कायम राख्‍न सक्दछन्। त्यसले देशको राजनीतिक स्थायित्वमा पनि मद्दत पुग्न सक्दछ।

कुनैसमय प्रचण्ड बनेका पुष्पकमल दाहाल सुरक्षा र सुविधा दिएर पार्टीको कार्यकारी अध्यक्ष बनाइएका भए पनि त्यो भूमिकामा छैनन् भनेर विश्लेषकहरुले भन्न थालेका छन्। देशलाई केही  नयाँ दिशा दिनसक्ने ‘आइडिया’ भएका भनेर चिनिएका डा. बाबुराम भट्टराईजस्ता नेता आफैं पाखा लागेका छन्। उनी पनि नयाँ शक्तिपार्टीको विलयसँगै असफल भएको भन्न हिचकिचाइरहनु नपर्ला।

यसरी एकपछि अर्को गरेर सबै नेताहरूको नाडी छाम्न सफल भएका   केपी ओली अहिलेकै स्थिति रहिरहे आउँदो पार्टी अधिवेशनमा पनि अध्यक्ष  बन्न सक्ने सम्‍भावना अहिले नै बलियो भएर गएको छ।

हिजो पनि गोरखापत्र आज पनि

ओली सरकारलाई आलोचनाको विषय बनाइएको अर्को पाटो भ्रष्टाचार पनि हो। तर, जसले भ्रष्टाचारका कुरा उठाएका छन् ती आफैँ आफ्ना कार्यकालमा भ्रष्टाचार अभियोग र आरोपबाट टाउको उठाउन नसक्ने गरी निहुरेकाले तत्कालै ओलीलाई त्यसले असफल पार्ने सम्‍भावना पनि देखिँदैन।

लोभी पापीहरूलाई ललीपप चटाएर खेलाउन सिपालु नेताको लागि खेल्न नेपालमा ठूलो मैदान छ जहाँ अझै पनि ओलीजस्ता नेताका लागि प्रशस्त अवसर छन्। यद्यपि, उनी लोभी पापीलाई पनि बाल्मीकि नै बनाउँछु भनेर कस्सिएर लागेको  पनि सुनिन्छ।

प्रधानमन्त्रीले आफ्नो दुई वर्षे कार्यकालको सफलतामा जेजति उल्लेख गरेका छन् ती कुनै क्रान्तिकारी परिवर्तनका उदाहरण हुनै सक्दैनन्। केपी  ओलीको ठाउँमा अरू नै प्रधानमन्त्री भएको भए पनि हुने काम तिनै हुन्। सबै कामरेडहरूलाई आफूले गरेको काम के के न भयोजस्तो लाग्नु स्वाभाविक हो।

नेपालका मार्क्सवादी चिन्तक भनेर चिनिनु भएका गोविन्द भट्ट गोरखापत्र संस्थानको अध्यक्ष बन्नु भएपछि एकपटक भन्नु हुन्थ्यो गोरखापत्र अब पहिलेको गोरखापत्र नै रहेन। तर, हामी बाहिरका पाठकका लागि भने गोरखापत्र जहिले पनि सरकारी मुखपत्रको रुपमा सधैं गोरखापत्र नै थियो र रहँदै आएको छ।

पञ्चायतकालदेखि हालसम्म पनि आधिकारिक समाचार र सूचनाको भरपर्दो माध्यम रहँदै आएको यो पत्रिका अहिले पनि उस्तै छ। केपी ओलीको नेतृत्वको सरकारलाई पनि सफलता र असफलताको मूल्यांकन गर्दा यहाँभन्दा पर गएको छ भन्न अहिलेसम्म  सकिएको छैन।

मोदी र ट्रम्प शैली

केपी सरकारको सञ्चालन शैली हेर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई साथै लिएर जाने शैलीजस्तो भन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो  आफ्ना अन्धभक्त मण्डलीका मण्डलेहरूको उग्रआवेशमा चल्ने मानिसहरूमा निर्भर भएको प्रतीत हुन्छ। ट्रम्पको जस्तो मण्डलीका सदस्य अस्थिर र परिवर्तन भइरहेका चाहिँ छैनन्।

तर, धेरैलाई गोलबन्द गर्नमा भन्दा भक्तजन बाहेकलाई निकम्मा देख्‍ने, आलोचना र सुझावलाई विश्लेषण गर्नुभन्दा निषेध गर्ने, नजिकको मित्र र टाढाको विपक्षमा भिन्नता नदेख्‍ने शैली किचेन क्याविनेटका सदस्यहरूको प्रष्ट देखिन्छ।

यसो हुनमा ओलीले आफन्त ठानेकाहरूमा लोभी पापीको जमात ठूलो भएर पनि हुनसक्छ। धेरैलाई गोलबन्द गरेर लिएर जानुमा नै सत्ताधारी दल मात्र होइन देशको हितमा पनि हुनेछ।

यसको सम्भावनालाई निषेध गरिरहने हो भने विकल्पका रुपमा नयाँ नेतृत्व तयार गर्ने सोचाइ बनाउनु पार्टी र देशका लागि अपरिहार्य आवश्यकता  हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.