बारा : राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।
नगर प्रमुख यादवसहित १२ जनाविरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको हो। वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
उनलाई मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। प्रशासनबाट सात दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
मेयरका छोरा पनि समातिए
नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानको क्रममा उनको पनि संलग्नता देखिएपछि बुधबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले नगरप्रमुख यादवसहित कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं २६ का महेश साह, वडा नं २० का सचिव खेदु मियाँदलाई पक्राउ गरेको छ।
त्यस्तै, कलैया-२० का वडा सचिव खेदु मियाँ, कलैया ७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
वडा नं.२० का वडाध्यक्ष महमद इमानुदिन फरार रहेका छन्। प्रहरीले यो घटनामा अन्य ब्यक्तिको पनि संलग्नता हुनसक्ने आशंका गरेर अनुसन्धान जारी राखेको छ. कलैया उपमहानगरपालिकाका विभिन्न वडाले ४ वर्षदेखि यादव आइस एन्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए।
कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका-७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।